३० फाल्गुन २०८२, शनिबार

माटाेकाे ढिस्कोले पुरिँदा रोल्पामा महिलाको मृत्यु

प्रकाशित मिति :  14 March, 2026 3:43 pm


दाङ । माटाेकाे ढिस्काेमा पुरिएर राेल्पामा एक महिलाकाे मृत्यु भएको छ । जिल्लाको रुन्टीगढी गाउँपालिका–७ खाक्सीबनमा ढिस्को खस्दा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार स्थानीय ४९ वर्षिया निर्मला बुढाथोकीको माटोले पुरिएर मृत्यु भएको हो । उनीसँगै माटो खन्न गएका अन्य तीन जना महिला घाइते भएका छन् । घाइते हुनेमा २८ वर्षिया एलिना पुन, ३८ वर्षिया शान्ति पुन र ४९ वर्षिया पार्वती पुन रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको निधार, ढाड र कम्मरमा चोट लागेको छ। घाइतेहरूको अवस्था मध्यम रहेको जनाइएको छ र उनीहरूको होलेरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

स्थानीय महिलाहरूको एक समूह घर लिप्ने माटो ल्याउन मोतिखन्ने डाँडामा पुगेको थियो । सात जना महिलाले गहिरो तथा सुरुङजस्तो खाल्डो बनाएर माटो खन्दै गर्दा अचानक माथिबाट ढिस्को खसेको प्रहरीले जनाएको छ। उक्त घटनामा तीन जना भने सकुशल रहेका छन् ।

दिउँसो करिब १२ः३० बजे माटोले पुरिएको खबर प्रहरीलाई पुगेपछि इलाका प्रहरी कार्यालय होलेरीबाट सात जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरी र स्थानीयले माटो पन्छाएर निर्मला बुढाथोकीलाई बाहिर निकाले पनि उनलाई मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि रेउघा अस्पताल पठाइने तयारी गरिएको प्रहरीले जनाएको छ।

ग्रामीण क्षेत्रमा घर लिप्ने माटो तथा अन्य प्रयोजनका लागि जोखिमपूर्ण स्थानमा उत्खनन गर्ने क्रम जारी रहँदा यस्ता दुर्घटना दोहोरिने खतरा रहेको स्थानीयले बताएका छन्।



प्रतिक्रिया दिनुहोस !