३० फाल्गुन २०८२, शनिबार

एमालेले छान्याे समानुपातिकतर्फ १६ जनाको नाम : काे काे समेटिए हेन्नुहाेस्

प्रकाशित मिति :  14 March, 2026 3:56 pm


काठमाडाैँ । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठकले समानुपातिकतर्फबाट प्रतिनिधिसभामा पठाइने १६ जना उम्मेदवारको नाम अन्तिम टुङ्गो लगाएको छ । बैठकले ती नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो।

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेका कारण उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले समावेशी क्लस्टरका आधारमा उम्मेदवार छनोट गरेको जनाएको छ ।

पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार आयोगमा पठाइने सूचीमा विभिन्न समुदाय र समूहबाट प्रतिनिधित्व हुने गरी नाम चयन गरिएको छ।

आदिवासी जनजाति क्लस्टरबाट भूमिका सुब्बा, गङ्गादेवी श्रेष्ठ, रामबहादुर थापा मगर र कुलभक्त शाक्यलाई सिफारिस गरिएको छ। खस–आर्यतर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल, गुरुप्रसाद बराल, पुष्पराज कँडेल तथा पिछडिएको क्षेत्र र अपाङ्गता क्लस्टरसमेत समेटेर यशोदा कुमारी बराललाई चयन गरिएको छ।

त्यसैगरी थारु समुदायबाट कृपाराम राणा, दलिततर्फ विष्णुमाया विक र नीता घतानी, मधेसी समुदायबाट रिंगला यादव, यशोदा कुमारी र चन्द्रेश्वर मण्डल तथा मुस्लिम क्लस्टरबाट साजिदा सिद्धिकीको नाम सिफारिस गर्ने निर्णय भएको उपमहासचिव भट्टले जानकारी दिए।

उम्मेदवार चयनसँगै बैठकले विभिन्न शोक प्रस्तावहरू पनि पारित गरेको छ। बैठकले पार्टी अध्यक्ष ओलीका ९७ वर्षीय पिता मोहनप्रसाद ओलीको फागुन २९ गते बिहान निधन भएकोप्रति श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष ओलीसहित शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ।

यसैबीच फागुन २८ गते पार्टीको समीक्षा बैठककै क्रममा हृदयघातका कारण निधन भएका केन्द्रीय सदस्य तथा कास्की जिल्ला संयोजक कृष्ण थापा र प्रचारप्रसारको सिलसिलामा हृदयघातका कारण ज्यान गुमाएका पूर्वकेन्द्रीय सदस्य तथा जनसांस्कृतिक महासंघका पूर्वअध्यक्ष खगेन्द्र राईप्रति पनि बैठकले गहिरो शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।



प्रतिक्रिया दिनुहोस !