३० फाल्गुन २०८२, शनिबार

जनताको पक्षमा दृढ भएर उभिनुहाेस्-मुख्यमन्त्री आचार्य

प्रकाशित मिति :  14 March, 2026 4:02 pm


बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य चेतनारायण आचार्यले पार्टी कार्यकर्तालाई दृढतापूर्वक जनताको पक्षमा उभिन आग्रह गरेका छन् ।

शनिबार बुटवलमा सम्पन्न नेकपा (एमाले) अर्घाखाँची–रुपन्देही सम्पर्क मञ्चको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले संगठनलाई सक्रिय रूपमा परिचालन गर्दै निरन्तर समीक्षा र मूल्यांकनका आधारमा जनतामुखी काम गर्नुपर्नेमा जोड दिए ।

उनले पछिल्लो निर्वाचन परिणामबारे गहिरो समीक्षा आवश्यक रहेको उल्लेख गर्दै परिस्थितिको सूक्ष्म विश्लेषण गरेर आगामी रणनीति तय गर्नुपर्ने बताए । “यो परिस्थिति यसै आएको होइन, हामी सबैले यसलाई गम्भीर रूपमा बुझ्न जरुरी छ,” उनले भने, “भदौ २३ र २४ मा भएका आन्दोलन पनि स्वस्फूर्त रूपमा भएका थिएनन्, त्यसबारे स्पष्ट रूपमा बुझ्न आवश्यक छ।”

मुख्यमन्त्री आचार्यले राजनीतिक रूपमा कार्यकर्तालाई प्रशिक्षित र संगठित गर्ने कामलाई निरन्तरता दिनुपर्ने बताउँदै संगठनलाई अझ सुदृढ बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

उनले विकास र समृद्धिको लक्ष्य हासिल गर्न एमाले नेतृत्वका सरकारले महत्वपूर्ण योगदान गरेको दाबी पनि गरे । “विकास निर्माणका धेरै काम एमाले नेतृत्वकै सरकारले गरेको छ। घरघरमा सडक र यातायातको पहुँच विस्तार गर्ने काम पनि एमालेकै नेतृत्वमा भएको हो,” उनले भने, “यो यथार्थलाई कसैले नकार्न सक्दैन।”

अर्घाखाँचीको विकासमा एमाले नेतृत्वको भूमिकाबारे उल्लेख गर्दै उनले सिंचाइ, सडक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम भएको बताए ।

सम्पर्क मञ्चका अध्यक्ष डबल बिसीको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरे, एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसाललगायत नेताहरूको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !