छुट्टाछुट्टै दुर्घटनामा परी कपिलवस्तुमा तीन जनाको मृत्यु
दाङ । छुट्टाछुट्टै दुर्घटनामा परी कपिलवस्तुमा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार यशोधरा गाउँपालिका, महाराजगञ्ज नगरपालिका र तौलिहवा–गोरुसिङ्गे सडकखण्डमा भएका तीन दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।
यशोधरा गाउँपालिकाको वसन्तपुर–पुरनिहवा सडकखण्डमा सेमराहवा चोकदेखि वसन्तपुरतर्फ जाँदै गरेको लु २४ प ७०९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालक ४२ वर्षिय रमकुमार चौधरीको मृत्यु भएको प्रहरी उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए । दुर्घटनामा घाइते भएका चौधरीलाई उपचारका लागि कपिलवस्तु अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
त्यस्तै तौलिहवा–बहादुरगञ्ज सडकखण्डअन्तर्गत महाराजगञ्ज नगरपालिका–३ गनवरियामा युपी ४७ एएल ४८२२ नम्बरको बुलेट मोटरसाइकल दुर्घटना हुँदा चालक कृष्णनगर नगरपालिका–१ बढैयाका २५ वर्षिय विनय चौधरीको मृत्यु भएको छ ।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि भैरहवास्थित मेडिकल कलेज लगिएकोमा राति करिब साढे नौ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी २८ वर्षिया पुष्पा चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ।
यसैबीच तौलिहवा–गोरुसिङ्गे सडकखण्डमा तौलिहवाबाट गोरुसिङ्गेतर्फ जाँदै गरेको लु ९७ प ०९४६ नम्बरको मोटरसाइकललाई बाटो काट्दै गरेको हरिणले झुक्याउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा मोटरसाइकलको पछाडि सवार यशोधरा गाउँपालिका–४ का ६५ वर्षिय गोमतीप्रसाद यादवको उपचारका क्रममा रुपन्देहीस्थित क्रिमसन अस्पतालमा मृत्यु भएको हो ।
उक्त घटनामा मोटरसाइकल चालक सोही स्थानका ५५ वर्षिय गिरीजेश कुमार पाण्डेय घाइते भएका छन्। उनको भारतको लखनउमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले सबै दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।








