१ चैत्र २०८२, आइतबार

समानुपातिक सांसद चयनको दौडमा प्रमुख दल : रास्वपा, कांग्रेस र नेकपाको बैठक आज

प्रकाशित मिति :  15 March, 2026 6:29 am


काठमाडाैँ । प्रतिनिधि सभाको समानुपातिकतर्फ निर्वाचित सांसदहरूको नाम टुङ्ग्याउन प्रमुख राजनीतिक दलहरू सक्रिय भएका छन् ।

निर्वाचन आयोगले तीन दिनभित्र समानुपातिक सांसदहरूको नाम पठाउन निर्देशन दिएपछि आइतबार विभिन्न दलका बैठक बस्दैछन् ।

नयाँ शक्ति रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि समानुपातिक सांसदको सूची तय गर्न सचिवालय बैठक बोलाएको छ ।

उपसभापति डोलप्रसाद अर्यालका अनुसार सभापति रवि लामिछानेको स्वास्थ्य अवस्थाका कारण शनिबारका लागि बोलाइएको बैठक आइतबार सारिएको हो ।

उक्त बैठकले प्रतिनिधि सभामा रास्वपाले प्राप्त गरेको ५७ समानुपातिक सिटका लागि अन्तिम सूची तय गर्नेछ । प्रत्यक्षतर्फ भने रास्वपाले १२५ स्थानमा जित हासिल गरेको छ ।

उता नेपाली कांग्रेसले पनि समानुपातिक सांसद छनोटका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकले बन्दसूचीमा रहेका उम्मेदवारमध्ये दलले पाएको सिट सङ्ख्याका आधारमा प्रतिनिधि सभा सदस्यको नाम छनोट गर्नेछ । बैठकपछि तय भएका नाम निर्वाचन आयोगमा बुझाइनेछ ।

यसैबीच नेकपा (नेकपा) ले पनि समानुपातिक सांसदको अन्तिम सूची आइतबार टुङ्गो लगाउने तयारी गरेको छ । निर्वाचन आयोगबाट प्राप्त निर्देशनपछि पार्टीले बैठक बोलाएको हो ।

नेकपा कार्यालयका सचिव गोविन्द आचार्यका अनुसार बैठकले विभिन्न समावेशी क्लस्टर मिलाएर सांसदहरूको नाम अन्तिम रूपमा तय गर्नेछ ।

निर्वाचन परिणामअनुसार नेकपाले प्रत्यक्षतर्फ आठ सिट जितेको छ भने समानुपातिकतर्फ नौ सिट प्राप्त गरेको छ । पार्टीले समानुपातिकतर्फ आठ लाख ११ हजार ५७७ मत प्राप्त गरेको थियो ।

निर्वाचनपछिको राजनीतिक चरणमा समानुपातिक सांसदको सूची तय गर्नु दलहरूका लागि महत्त्वपूर्ण कार्य बनेको छ । समावेशी प्रतिनिधित्व, दलभित्रको शक्ति सन्तुलन र भावी राजनीतिक समीकरणलाई ध्यानमा राख्दै दलहरूले अन्तिम निर्णय गर्ने तयारी गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !