फोरलेन सडक निर्माण तीव्र बनाउन ‘घोराही बनाऔं अभियान’को माग
दाङ । घोराही बनाऔं अभियानले घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत निर्माणाधीन फोरलेन सडक तथा पुल निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउन माग गरेको छ।
अभियानको टोलीले आइतबार सडक डिभिजन कार्यालय दाङमा पुगेर निर्माणाधीन फोरलेन सडक र सोही सडकमा बनिरहेका पुलहरूको काम पहिलेभन्दा अझ तीव्र गतिमा सञ्चालन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो।
निर्वाचनपछि सडक निर्माणको काम सुस्त भएको भन्दै सामाजिक सञ्जालमा गुनासो बढ्न थालेपछि अभियानले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको जनाएको छ।
घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनको नेतृत्वमा सडक डिभिजन कार्यालय पुगेको टोलीले कार्यालयका प्रतिनिधिसँग यस विषयमा विशेष छलफल गरेको थियो। छलफलपछि अभियानको तर्फबाट कार्यालयलाई ज्ञापनपत्र समेत बुझाइएको छ।
डिभिजन सडक कार्यालयका प्रवक्ता इन्जिनियर अशोक चौधरीले ज्ञापनपत्र बुझ्दै फोरलेन सडक तथा पुल निर्माणको काम समयमै सम्पन्न गर्न कार्यालय गम्भीरताका साथ लागिपरेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष केल बुढाथोकी, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य चिन्तामणि पौडेल, राष्ट्रिय खेलाडी बिरु भाइ बज्राचार्यलगायतको उपस्थिति रहेको थियो।
अभियानले ज्ञापनपत्रमार्फत घोराही–तुलसीपुर फोरलेन सडक तथा बाँकी खोलामा निर्माणाधीन पुलको कामलाई अझ तीव्र बनाएर निर्धारित समयभन्दा अघि नै सम्पन्न गर्ने वातावरण बनाउन माग गरेको छ । साथै विकास निर्माणका कामलाई सार्थक बनाउन अभियानको तर्फबाट निरन्तर सकारात्मक सहयोग रहने पनि जनाएको छ।








