१ चैत्र २०८२, आइतबार

किशोरीमाथि बलात्कारपछि हत्या प्रकरण : दोषीलाई कडा कारबाही गर्न अखिल नेपाल महिला संघको माग

प्रकाशित मिति :  15 March, 2026 1:36 pm


दाङ । अखिल नेपाल महिला संघ दाङ जिल्ला कमिटीले सुर्खेतमा एक किशोरीमाथि भएको सामूहिक बलात्कारपछि हत्या घटनाको विरोध गर्दै दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।

संघले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै उक्त घटनाप्रति गहिरो दुःख र आक्रोश व्यक्त गरेको जनाएको छ।

संघका अनुसार सुर्खेतको गुर्भाकोट नगरपालिका–६ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ मा बस्दै आएकी कक्षा ११ मा अध्ययनरत १६ वर्षीया इनिशा विकमाथि यही फागुन २३ गते सामूहिक बलात्कारपछि हत्या गरिएको घटनाले सभ्य समाजलाई नै लज्जित बनाएको उल्लेख गरिएको छ।

संघले आधुनिक समाजमा समेत यस्ता अमानवीय घटना दोहोरिरहनु गम्भीर चिन्ताको विषय भएको जनाएको छ। विगतमा यस्ता घटनामा प्रभावकारी अनुसन्धान नहुनु तथा अपराधीलाई कडा कानुनी सजाय नहुनुले अपराध न्यूनीकरण हुन नसकेको संघको ठहर छ।

महिला तथा किशोरीमाथि हत्या, बलात्कार, अपहरणजस्ता घटनाले समाजमा असुरक्षाको वातावरण सिर्जना गरिरहेको भन्दै संघले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेको छ। साथै पीडित परिवारलाई छिटोछरितो न्याय उपलब्ध गराउन पनि संघले सरकारसँग आग्रह गरेको छ।

अखिल नेपाल महिला संघ दाङ जिल्ला कमिटीकी अध्यक्ष लक्ष्मी शर्माको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत उक्त ज्ञापनपत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार काठमाडौं तथा गृह मन्त्रालयलाई पठाइएको जनाएको छ।



प्रतिक्रिया दिनुहोस !