रुखको हाँगाले चाेट लाग्दा रुकुम पश्चिममा एक जनाको मृत्यु
दाङ । हावाहुरीका कारण रुखको हाँगा भाँचिएर चाेट लाग्दा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ । जिल्लाको सानीभेरी गाउँपालिका–५ हाँसुका ५५ वर्षिय धने खत्रीको रुखको हाँगाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएकाे छ ।
कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार मिस्त्री काम गरेर घर फर्किने क्रममा हावाहुरी चलेका बेला ओखरको रुखको ठूलो हाँगा भाँचिएर खत्रीमाथि खसेको थियो ।
हाँगा लागेसँगै उनी गम्भीर घाइते भएका थिए र घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना भएको खबर प्राप्त भएपछि प्रहरीचौकी मग्माबाट प्रहरी सहायक निरीक्षक भीमबहादुर रावतको नेतृत्वमा तीन जनाको टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको थियो ।
स्थानीयवासीका अनुसार पछिल्ला दिनहरूमा हावाहुरीको जोखिम बढ्दै गएको छ । ग्रामीण बस्तीमा घर आसपास रहेका ठूला रुख तथा कमजोर हाँगाहरूका कारण यस्ता दुर्घटनाको सम्भावना रहने भएकाले सतर्कता अपनाउनुपर्ने उनीहरूको भनाइ छ ।
प्रहरीले हावाहुरी तथा खराब मौसमका बेला विशेष सावधानी अपनाउन र जोखिमयुक्त स्थानमा अनावश्यक रूपमा आवतजावत नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।








