१४ बैशाख २०८१, शुक्रबार

रोल्पामा कोरोनाको अन्तिम रिपोर्ट आउन ढिलाई,‘प्रोटोकल अनुसार’ सन्चो भन्दै ३४ जना घर फर्किए

प्रकाशित मिति :  29 June, 2020 6:43 pm


रोल्पाको सुनछहरी गाँउपालिकामा क्वारेन्टाईनमा रहेका व्यक्तिको स्वाब संकलन गरिदै । फोटो : जुनिस कुमार विष्ट

रोल्पा,१५ असार ।

रोल्पामा कोरोना संक्रमित भएका ४७ जना मध्य ३४ जना घर फर्किएका छन् । कोरोना संक्रमण देखिएपछि आइसोलेशनमा भर्ना भएकाहरुलाई कुनै लक्षण नदेखिएको भन्दै घर पठाउन सुरु गरिएको हो ।

रोल्पा अस्पतालका कोरोना फोकल पर्सन अरुण पार्देले तोकेको समयभित्र कोरोनाको कुनै लक्षण नदेखिएपछि घर पठाईएको जानकारी दिए । उनले भने,‘प्रोटोकल अनुसार मापदण्ड पुरा गरेर घर पठाईएको छ ।’

उनीहरुको निको भए नभएको एकीन गर्न पठाईएको स्वाब परीक्षणको नतिजा भने आएको छैन । फोकल पर्सन पार्देले भने,‘ हामीलाई प्रोटोकल ले भनेको छ त्या पुरा गरेका छौं तर निको भए नभएकोबारे परीक्षणको रिपोर्ट भने आएको छैन ।

रोल्पामा सोमबारमात्रै लुंग्री गाँउपालिकामा एक जना संक्रमित भेटिएका छन् ।

पार्देका अनुसार अहिले रोल्पा जिल्ला अस्पतालको मातहत रहने गरि बनाईएको जलजला क्याम्पसको आइसोलेशनमा ११ जना संक्रमित छन् भने लुंग्री र रुन्टीगढी गाँउपालिका १/१ जना थपिन बाँकी छ ।

सुनछहरी गाउँपालिका पहिलो पटक स्वाब संकलन

रोल्पाको सुनछहरी गाउँपालिका भित्र पहिलो पटक कोरोना परीक्षणका लािग स्वाब संकलन भएको छ ।

सुनछहरी गाउँपालिका वडा नम्बर नं. ५ जैमाकसलाको नमुना माध्यमिक विद्यालय कसलाको क्वारेन्टाइनमा रहेका १६ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको हो । क्वारेन्टाइनमा बसेकाहरु ब्यक्तिहरु भारत,साउदी,कुवेत तथा नेपालका विभिन्न संक्रमित जिल्लाबाट आएका बसिरहेका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरका डाक्टर प्रकृति भट्टराईको टोलीले स्वाब संकलन गरेको छ । स्वाब संकलन गरिएकाहरु ५ देखि १३ दिनसम्म क्वारेन्टाईनमा बसेका व्यक्ति छन् ।

वडा नम्बर ५ जैमाकसलाका अध्यक्ष तिर्खबहादुर बुढाथोकीले एक हप्तामा स्वाब परीक्षण नतिजा आउने बताए । सुनछहरी गाउँपालिका स्वास्थ्य संयोजक जगत बुढाले स्वाब परीक्षणका लागि नेपालगन्ज पठाउने जानकारी दिए ।

रोल्पामा रोल्पा नगरपालिका,सुनिल स्मृति, रुन्टीगढी र लुंग्री गाँउपालिकामा कोरोना संक्रमणको पुष्टि भईसकेको छ । सुनछहरीमा भने पहिलो पटक स्वाब संकलन गरिएको हो ।



प्रतिक्रिया दिनुहोस !