आज तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भूभागमा हिमपात र मध्यम वर्षा हुने
काठमाडौं । देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण आज मिश्रित मौसम रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली भूभागमा सामान्य बदली रहेको छ भने अन्य क्षेत्रहरूमा आंशिक बदली रहेको छ।
आज दिउँसो हिमाली भूभागका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। ती क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेशको तराई तथा अन्य केही पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा हुन सक्ने जनाइएको छ।
यसैगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली कायम रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। अन्य पहाडी क्षेत्र तथा सुदूरपश्चिमको तराईका केही स्थानहरूमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।
मौसमविद्हरूले चट्याङ, हावाहुरी तथा वर्षाबाट हुन सक्ने सम्भावित जोखिमबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।








