‘स्वीङ भोट’ का कारण कांग्रेसको पराजय : डा. शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला ले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस को पराजयलाई ‘स्वीङ भोट’ को संज्ञा दिएका छन् ।
शनिबार काठमाडौंस्थित वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १८औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले मतदाताले पार्टी नछोडी मत मात्रै परिवर्तन गरेको दाबी गरे। अब आगामी दिनमा यस्तो मत ‘सिफ्ट’ हुन नदिन पार्टीले रणनीति बनाउनुपर्ने उनले बताए।
कोइरालाका अनुसार संसद्मा कांग्रेसको उपस्थिति कमजोर हुनुको मुख्य कारण जनताको चाहना र नयाँ राजनीतिक ‘हावाहुरी’ लाई समयमै बुझ्न नसक्नु हो। “हावाहुरी–हुण्डरी आयो, हामीले बुझ्न सकेनौं,” उनले भने।
उनले अबको राजनीतिक प्रतिस्पर्धा वामपन्थी दलहरूसँग मात्र नभई ‘लिबरल डेमोक्रेट्स’ सँग हुने उल्लेख गर्दै संगठन सुदृढ बनाउनुपर्नेमा जोड दिए। “पहिले हाम्रो लडाइँ वामपन्थीसँग सजिलो थियो, अब लिबरल डेमोक्रेट्ससँग छ, त्यसमा हामी पछि पर्नुहुँदैन,” उनले भने।
कोइरालाले विशेष अधिवेशनको माग आफूले सुरुदेखि नै उठाएको स्मरण गराउँदै उक्त अधिवेशनबाट गगन थापा सभापति बनेको प्रसंग पनि उल्लेख गरे। साथै, शेरबहादुर देउवा र पूर्णबहादुर खड्का ले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको फैसला आउन बाँकी रहेको बताए।
अदालतको प्रक्रिया जे भए पनि पार्टीलाई एकतावद्ध बनाउने प्रयास अन्त्यसम्म जारी राख्ने प्रतिबद्धता उनले व्यक्त गरे। “मुद्दाको छिनोफानो भोलिदेखि सुरु होला, समय लाग्न सक्छ,” उनले भने, “तर कांग्रेसलाई एक ढिक्का बनाउन म अन्त्यसम्म लागिरहनेछु।”








