पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : देशभर बदली, वर्षा र हिमपातको सम्भावना
दाङ । देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम रहँदा मौसममा व्यापक परिवर्तन देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपात भइरहेको छ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहने सम्भावना रहेको छ भने अन्य प्रदेशमा आंशिक बदली रहने अनुमान गरिएको छ। ती प्रदेशका धेरै स्थानका साथै कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ। साथै मधेश, कोशी र बागमती प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा यस्तै मौसम रहने देखिएको छ।
आज राति भने देशभर सामान्यदेखि पूर्ण बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा पहाडी र हिमाली क्षेत्रका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने अनुमान गरिएको छ।
महाशाखाले विशेषगरी मधेश, कोशी र बागमती प्रदेशका तराई क्षेत्रका बासिन्दा, यात्रु तथा यातायात सञ्चालनकर्तालाई सतर्कता अपनाउन आग्रह गरेको छ।








