२५ चैत्र २०८२, बुधबार

आज बस्दै संसदका दुवै सदन : प्रधानमन्त्रीद्वारा वार्षिक प्रतिवेदन पेश हुने

प्रकाशित मिति :  8 April, 2026 7:43 am


काठमाडौँ । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। निर्धारित कार्यतालिका अनुसार प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे सिंहदरबारमा बस्नेछ भने राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजेका लागि तय गरिएको छ।

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ पेश गर्ने कार्यसूची रहेको छ। यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्ताव गर्ने कार्यक्रम छ। सो विधेयक प्रस्तुत गर्नुअघि त्यसका लागि अनुमति माग्ने प्रस्ताव पनि पेश गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ।

त्यसैगरी, सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र बैठकमा वाचन गरेर सुनाउने कार्यक्रम पनि तय गरिएको छ।

उता, राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री शाहले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन’ सभा समक्ष पेश गर्ने कार्यक्रम रहेको छ । आजका दुवै बैठकमा महत्वपूर्ण विधेयक तथा प्रतिवेदन प्रस्तुत हुने भएकाले संसद् गतिविधि अर्थपूर्ण रहने अपेक्षा गरिएको छ।



प्रतिक्रिया दिनुहोस !