३ बैशाख २०८३, बिहिबार

कांग्रेसभित्र टकराव तीव्र: अनुशासन कारबाही र नेतृत्व वैधतामा ठाडो भिडन्त

प्रकाशित मिति :  16 April, 2026 6:19 am


काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अब अनुशासन कारबाही र नेतृत्वको वैधतामाथिको खुला टकरावमा रूपान्तरण हुँदै गएको छ । पछिल्ला घटनाक्रमले पार्टी विभाजनतर्फ उन्मुख भइरहेको संकेत दिएका छन्।

केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का सँग सात दिने स्पष्टीकरण मागेपछि विवाद थप चर्किएको हो। समितिले खड्काले पार्टीको नाममा ‘नक्कली लेटरप्याड’ प्रयोग गर्दै अवैध प्रेस विज्ञप्ति जारी गरेको आरोप लगाएको छ। पार्टी विधानको धारा ३४ (८)(घ) अनुसार उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको जनाइएको छ।

तर खड्काले भने अनुशासन समितिको निर्णयलाई ठाडै अस्वीकार गरेका छन्। उनले उक्त निर्णयलाई “हास्यास्पद, निरर्थक र अर्थहीन” भन्दै खारेज गरेका छन्। साथै, विशेष महाधिवेशनबाट बनेको कार्यसमितिलाई नै अवैधानिक ठहर गर्दै आफूले प्रयोग गरेको लेटरप्याड नै वैध भएको दाबी गरेका छन्।

पार्टी आधिकारिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै उनले आफ्नो कदमलाई उचित ठहर्याएका छन्।
विवादको जड गत चैत महिनाका घटनाक्रमसँग जोडिएको छ। खड्काले १४ चैतमा कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गर्दै तत्कालीन सरकारका गतिविधिप्रति असन्तुष्टि जनाएका थिए।

त्यसपछि उनले १७ चैतमा केन्द्रीय कार्यसमितिको बैठकसमेत बोलाएका थिए। यस्तै, ३० चैतमा दोस्रोपटक विज्ञप्ति जारी गर्दै क्रियाशील सदस्यता खारेजीको निर्णयप्रति असहमति व्यक्त गरेका थिए।

यसअघि पार्टी सभापति गगन कुमार थापा ले केन्द्रीय समितिको निर्णयअनुसार सबै क्रियाशील सदस्यता खारेज गरिएको घोषणा गरेका थिए, जसले विवादलाई थप चुल्याएको थियो।

खड्काको पछिल्लो कदमपछि अनुशासन समितिले बैठक बोलाउँदै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। यससँगै कांग्रेसभित्र ध्रुवीकरण अझ गहिरिने संकेत देखिएको छ।

यद्यपि, संस्थापन पक्ष भने परिस्थितिलाई जटिल बनाउन नखोजिएको बताउँछ। महामन्त्री प्रदीप पौडेल ले सबै पक्षलाई मिलाएर अगाडि बढ्ने प्रयास भइरहेको बताएका छन्। उनका अनुसार केही विषयहरू सामान्य रूपमा लिन नसकिने भएकाले स्पष्टीकरणको अवस्था आएको हो।

“अनुशासनको विषय प्रक्रियागत र जटिल हुन्छ। कसैले पार्टीको नाममा केही गतिविधि गरेमा त्यसबारे सोधपुछ हुनु स्वाभाविक हो,” पौडेलले भने।

पार्टीभित्रको यो टकरावले अब संगठनात्मक एकता जोगाउने कि विभाजनतर्फ धकेलिने भन्ने प्रश्नलाई अझ गम्भीर बनाएको छ।



प्रतिक्रिया दिनुहोस !