३ बैशाख २०८३, बिहिबार

पेट्रोलियम पदार्थ महँगियो : डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य वृद्धि

प्रकाशित मिति :  16 April, 2026 6:32 am


काठमाडौँ । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बुधबार मध्यरातिदेखि लागू हुनेगरी डिजल, मट्टीतेल र आन्तरिक हवाई इन्धनमा मूल्य समायोजन गरेको जनाएको छ।

नयाँ मूल्यसूचीअनुसार डिजल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ वृद्धि गरिएको छ। यससँगै यी दुवै पदार्थको मूल्य प्रतिलिटर २३७ रुपैयाँ पुगेको छ। त्यस्तै, हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि भई नयाँ मूल्य २५६ रुपैयाँ कायम भएको निगमले जनाएको छ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्यवृद्धि हुनुका साथै Indian Oil Corporation बाट प्राप्त नयाँ मूल्यसूचीका आधारमा समायोजन गर्नुपरेको हो। लागत मूल्य उच्च र बिक्री मूल्य न्यून हुँदा मूल्य वृद्धि गर्दा पनि निगम अझै घाटामा रहेको दाबी गरिएको छ।

हालको समायोजनपछि पनि पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ३२ पैसा, डिजलमा ८७ रुपैयाँ ९९ पैसा र मट्टीतेलमा ३६ रुपैयाँ ७० पैसा घाटा रहेको निगमले जनाएको छ। साथै, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ३३१ रुपैयाँ २५ पैसा नोक्सानी भइरहेको बताइएको छ।

निगमका अनुसार अहिलेको अवस्थामा पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ बराबरको घाटा भइरहेको छ। मूल्य समायोजनका बाबजुद पनि आर्थिक दबाब कायम रहेको भन्दै निगमले आगामी दिनमा थप चुनौती देखिएको संकेत गरेको छ।



प्रतिक्रिया दिनुहोस !