११ बैशाख २०८३, शुक्रबार

एआरई जीपी ग्रान्ड फिनालेमा नेपाली राइडरको दबदबा, तीन विधामा पोडियम सफलता

प्रकाशित मिति :  24 April, 2026 10:48 am


काठमाडौं । भारतको चेन्नईस्थित मद्रास इन्टरनेशनल सर्किटमा सम्पन्न एआरई जीपी ग्रान्ड फिनालेमा नेपाली राइडरहरूले उल्लेखनीय सफलता हासिल गरेका छन्।

तीन जना नेपाली राइडरले फरक–फरक विधामा शीर्ष स्थान सुरक्षित गर्दै अन्तर्राष्ट्रिय मोटरस्पोर्ट्समा नेपालको उपस्थितिलाई बलियो बनाएका हुन्।

प्रतियोगितामा अभिनव राज मल्लाले २०० सिसी विधामा प्रथम स्थान हासिल गरे भने दिलीप दनुवारले ३१० सिसी विधामा शीर्ष स्थान जिते। त्यस्तै, सुजन थापा मगरले १६० सिसी विधामा दोस्रो स्थान हासिल गर्दै नेपालको लागि अर्को महत्वपूर्ण उपलब्धि थपे।

एआरई जीपी नेपालबाट छनोट भई अन्तर्राष्ट्रिय ट्र्याकमा पुगेका यी राइडरहरूले उच्च गति र जटिल ट्र्याकको चुनौतीबीच उत्कृष्ट नियन्त्रण र आत्मविश्वास प्रदर्शन गरेका थिए। उनीहरूको प्रदर्शनले प्रतिस्पर्धात्मक मोटरस्पोर्ट्समा नेपाली प्रतिभाको क्षमता प्रमाणित गरेको छ।

उपलब्धिले टिभिएस अपाचे रेसिङ एक्सपेरियन्स (एआरई) जीपी कार्यक्रमको प्रभावकारिता समेत उजागर गरेको हाे। उक्त प्लेटफर्मले घरेलु स्तरबाट प्रतिभा छनोट गरी अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउने काम गर्दै आएको छ, जसले नयाँ पुस्ताका प्रतिस्पर्धी राइडर उत्पादनमा योगदान दिइरहेको छ।

यस सफलताबारे जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले नेपाली राइडरहरूको उपलब्धि देशकै लागि गौरवपूर्ण भएको बताए। उनले यस्तो प्लेटफर्ममार्फत युवा राइडरलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर सिर्जना गर्दै उनीहरूको क्षमताको विकासमा कम्पनी प्रतिबद्ध रहेको उल्लेख गरे।

टिभिएस रेसिङको निरन्तर लगानी र प्रशिक्षण पहलले नेपाली राइडरलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उभिन सक्षम बनाएको विश्लेषण गरिएको छ। पछिल्लो सफलता केवल व्यक्तिगत जितमा सीमित नभई नेपालको मोटरस्पोर्ट्स क्षेत्र विस्तार हुँदै गएको र क्षेत्रीय रेसिङ सर्किटमा उपस्थिती सुदृढ बन्दै गएको संकेतका रूपमा समेत हेरिएको छ।



प्रतिक्रिया दिनुहोस !