१५ बैशाख २०८१, शनिबार

ओलीलाई दुबै पदबाट हटाउँदा पार्टी एक नरहने प्रचण्ड-माधव नेपाल पक्षको निष्कर्ष,मध्यमार्गी बाटोको खोजी

प्रकाशित मिति :  1 July, 2020 10:39 pm


काठमाडौं,१७ असार ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र अर्को अध्यक्ष प्रचण्ड-माधव नेपाल पक्षबीच गुटगत भेला तिब्र छ ।

प्रधानमन्त्री ओलीले बुधबार विहान सरकारी निवास बालुवाटारमा बोलाएर आफू निकट मन्त्री र स्थायी समिति सदस्यहरुसँग छलफल गरेका थिए ।

बेलुकी ललितपुरको झम्सिखेलमा प्रचण्ड-माधव नेपाल पक्षका स्थायी कमिटी पक्षको बैठक बसेको छ । बैठकमा धेरैजसो स्थायी कमिटी सदस्यले केपी शर्मा ओलीले अध्यक्ष र प्रधानमन्त्री पद छोड्नुपर्नेमा जोड दिएका छन् ।

ओलीको अहंकार र दम्भ अति भएको र पार्टी तथा सरकारपनि ठिक ढंगसँग सञ्चालन गर्न नसकेको भन्दै अब दुबै पद छोड्नुपर्ने धारणा राखेका छन् ।

एक स्थायी कमिटी सदस्य अनुसार अध्यक्ष प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री एवं अध्यक्ष ओलीसँग अन्तिम छिनोफानो गर्नुपर्ने पक्षमा छन् । झम्सिखेल बैठकमा सहभागि ति स्थायी कमिटी सदस्यले भने,‘प्रचण्ड र माधव कमरेड ओलीसँग अन्तिम छिनोफानो गर्ने पक्षमा देखिनु हुन्छ तर दुबै पदबाट ओली हटाउँदा पार्टी एक नहुँने पक्का छ ।’

बैठकमा धेरैजसो स्थायी कमिटी सदस्यले ओलीलाई दुबै पदबाट हटाउनुपर्नेमा जोड दिएका थिए । ओलीलाई दुबै पदबाट हटाउने तर हटाउँदा पार्टी एक नरहने स्थिति देखिएपछि के गर्ने भन्ने थप छलफल हुने स्रोतको भनाई छ । अर्को स्थायी कमिटी सदस्यले भने,‘ अहिले पार्टी फुटोस भन्ने कोही चाहँदैनन् तर ओली जीलाई हटाउनुपर्छ भन्नेमा धेरैजसोको मत मिलेको देखिन्छ ।’

स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी र घनश्याम भुसालले भने बैठकमा मिलाएर जानुपर्नेमा जोड दिएका छन् । बैठकमा ओलीलाई दुबैपदबाट हटाउँदा अफ्ठेरो पर्ने भन्दै एक पदबाट हटाएर पार्टी फुटबाट जोगाउनुपर्ने बताएका छन् ।

स्रोतले भन्यो,‘ टोप जी र भुसाल जी लगायत केही साथीहरुले पार्टी जोगाउनका लागि पनि एक पद ओलीलाई छोडेर जाँदा उपयुक्त हुने पक्षमा हुनुहुन्छ तर यो आवाज उठाउने साथीहरु सानो संख्यामा हुनुहुन्छ ।’

बैठकमा स्थायी कमिटी सदस्यको सुझाव सुनेपछि के गर्ने भन्ने विषयमा शिर्ष नेताले टुंगो लगाउने छन् । प्रचण्ड र माधव नेपालले थप छलफल गरेर एउटा निष्कर्ष निकाल्ने स्रोतको भनाई छ । ति स्थायी कमिटी सदस्यले भने,‘ ओलीलाई दुबै पदबाट जसरीपनि हटाउनुपर्छ भन्ने धेरैको धारणा छ तर पार्टी फुटाउने पक्षमा कोही हुनुहुन्न त्यसैले शिर्ष तहबाट मिलाएर केही निर्णय होला ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले नक्शा जारी गरेपछि आफूलाई हटाउन भारत सकृय रहेको र त्यसमा केही नेता लागेको भनेपछि सत्तारुढ नेकपा भित्र विवाद चर्किएको छ । जारी स्थायी कमिटी बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधव नेपाल पक्षबीच विवाद चर्किएको छ ।



प्रतिक्रिया दिनुहोस !