थप ४ सय ७३ जनामा कोरोना संक्रमणको पुष्टि,काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढ्यो
काठमाडौं,१८ असार ।
देशभर ४ सय ७३ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले ४ हजार ५ सय ३७ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ७३ जना संक्रमित भेटिएको जानकारी दिए ।
काठमाण्डौं उपत्यकामा समेत संक्रमितको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकाका ३ जिल्लामा ३२ जनामा कोरोना पुष्टि भएको छ। प्रवक्ता गौतमका अनुसार ललितपुरका १ पुरुष, भक्तपुरका २ पुरुष, काठमाडौँका १७ महिला र ११ पुरुष र ललितपुरका १ पुरुषमा कोरोना पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा ६ सय ६४ जना निको भएर घर फर्किएका छन् । हालसम्म कोरोना निको हुनेमा कूल संख्या ५ हजार ३ सय २० पुगेको छ ।
अझै आइसोलेशनमा १० हजार १ सय ३७ जना छन् । क्वारेन्टाइनमा ३८ हजार १ सय ९ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए ।








