रास्वपाका सांसदमाथि दुर्व्यवहार बढ्दो,कालो मसी छ्याप्नेदेखि ‘कुपनमा परेको’ भन्दै अपमानसम्म
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्यहरूमाथि दुर्व्यवहार बढ्न थालेको छ । पछिल्लो केही दिनयता सांसदलाई बाटो छेक्ने, कालो मसी छर्कने र होच्याउने जस्ता गतिविधि भएको छ ।
साउनको पहिलो हप्ता सांसद धनञ्जय रेग्मी आफ्नो निर्वाचन क्षेत्र स्याङ्जा–१ मा स्थानीय बासिन्दाहरूसँग भेटघाटका क्रममा हिँडिरहेका बेला ‘विकासका नयाँ योजनाहरू नलिई किन गाउँ आएको ?’ भन्दै बाटो छेकेका थिए ।
स्थानीयवासीले सांसद रेग्मीलाई ‘तपाईंले बनाएको बाटो होइन’ भन्दै विकासको योजना माग गरेका थिए ।
आक्रोशित भिडले उनलाई बाटोमै रोकेर स्पष्टीकरण मागेपछि सांसद रेग्मीले हात जोडेर आफूलाई जान दिन अनुरोध गरेका थिए ।
साउन ७ गते राती रौतहटको गढीमाई नगरपालिका ४ पर्सा गाउँमा पुगेका सांसद गणेश पौडेललाई कालोमसी छ्यापेर भागेका थिए ।
रौतहट क्षेत्र नम्बर–४ मा ‘जनतासँग सांसद’ भेटघाट कार्यक्रम सकेर जुत्ता लगाउने क्रममा पछाडिबाट केही अपरिचित व्यक्तिहरूले उनीमाथि कालो मसी छ्यापेर भागेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उदयपुर क्षेत्र नम्बर १ का सांसद पारशमणि गेलालमाथि यही साउन ९ गते नागरिकहरूबाट आक्रोश र अपमानजनक व्यवहार भएको छ ।
उनलाई स्थानीयले ‘चिठ्ठामा परेको माननीय’, ‘चाउचाउमा परेको कुपन जस्तो माननीय’ भन्दै मतदाताले आक्रोश पोख्दै अपमान गरेका थिए । आफूहरूको समस्या नबुझेको भन्दै उनीहरूले भ्युज र सस्तो लोकप्रियताका लागि मात्र राजनीति गरेको आरोप लगाएका थिए ।
सांसद गेलालले भने हाँस्दै र सामान्य रूपमा प्रतिक्रिया दिँदै परिस्थितिलाई सामान्य बटाउने प्रयास गरेका थिए ।
अहिले १५ दिन प्रतिनिधि सभाको बैठक स्थगित छ । सांसदहरू आफ्नो मतदाता भेट्न निर्वाचन क्षेत्रमा गएका छन् । सोही क्रममा रास्वपाका सांसदमाथि दुव्र्यवहार हुने गरेको छ ।
सांसद धनन्जय रेग्मी हुँदै गणेश पौडेलसम्म दुव्र्यवहारका घटना भएपछि रास्वपाले आफ्नो धारणा सार्वजनिक गरेको छ । खासगरी सांसद गणेश पौडेलमाथि अलि गम्भीर खालको दुव्र्यवहार भएपछि रास्वपाले विज्ञप्ति जारी गरेको हो ।
पौडेलमाथि कालाे मसी छ्यापिएपछि रास्वपाले दुव्र्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । दलका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले शनिबार जारी गरेको विज्ञप्तिमा यही ७ साउनमा मतदाताको भेटघाट कार्यक्रम सकेर फर्कने क्रममा सांसद पौडेलमाथि भएको उक्त घटनाको घोर भत्र्सना गरिएको छ ।
विज्ञप्तिमा ‘लोकतान्त्रिक व्यवस्थामा असहमति र विरोध व्यक्त गर्ने अधिकार सुरक्षित रहे पनि जनप्रतिनिधिमाथि हुने हिंसा, दुव्र्यवहार वा अपमानजनक व्यवहार कुनै पनि लोकतान्त्रिक समाजमा स्वीकार्य हुन नसक्ने’ उल्लेख गरिएको छ । यस्ता गतिविधिले विधिको शासन, लोकतान्त्रिक संस्कार तथा शान्तिपूर्ण र सु–संस्कृत राजनीतिक अभ्यासमाथि प्रहार गर्ने रास्वपाको धारणा छ ।
प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले पनि घटनाको विरोध गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सभापति थापाले असहमतिको उत्तर हिंसा र अपमानबाट हुन नसक्ने बताएका छन् ।
सभापति थापाले भनेका छन्, “प्रतिनिधि सभा सदस्य गणेश पौडेलमाथि भएको आक्रमण निन्दनीय छ । असहमति भए त्यसको उत्तर संवाद, बहस र लोकतान्त्रिक प्रक्रियाबाट दिनुपर्छ, हिंसा वा अपमानबाट होइन ।”








