मानव बेचबिखनको नयाँ स्वरूपलाई सम्बोधन गर्न ‘एन्टी साइबर स्क्याम सेल’ स्थापनाको तयारी
काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मानव बेचबिखनको बदलिँदो स्वरूपलाई सम्बोधन गर्न नेपाल प्रहरीको साइबर ब्यूरोअन्तर्गत ‘एन्टी साइबर स्क्याम सेल’ स्थापना गर्ने प्रस्ताव अघि बढाइएको जानकारी दिएका छन्।
विश्व मानव बेचबिखन विरुद्धको दिवसका अवसरमा मङ्गलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले मानव बेचबिखन परम्परागत स्वरूपबाट रूपान्तरण भएर डिजिटल प्लेटफर्ममार्फत हुने ‘साइबर स्लेभरी’ र ‘फोर्स्ड क्रिमिनालिटी’ मा विकसित भएको बताएका छन्। आकर्षक रोजगारीको प्रलोभनमा विदेश पुर्याएर बन्धक बनाई अनलाइन ठगी र साइबर अपराधमा संलग्न गराउने प्रवृत्ति बढ्दो रहेको उनको भनाइ छ।
प्रहरीका अनुसार पछिल्ला तीन वर्षमा मानव बेचबिखन तथा ओसारपसारका ५३० मुद्दा दर्ता भएका छन्। ७१० पीडितमध्ये ८६ प्रतिशत महिला तथा बालबालिका रहेका छन्। दक्षिणपूर्वी एशिया र भारतबाट उद्धार गरिएका २,०५२ जनामध्ये १,७८७ ९८७ प्रतिशत० महिला तथा बालबालिका रहेका छन् भने पुरुष पीडितको सङ्ख्या पनि बढ्दो क्रममा रहेको जनाइएको छ।
संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनअनुसार दक्षिण एशियामा मानव बेचबिखनबाट प्रभावित मुलुकमध्ये नेपाल शीर्ष चारभित्र पर्ने उल्लेख गर्दै उनले अधिकांश पीडित अनलाइन विज्ञापन वा डिजिटल सम्पर्कमार्फत अपराधीको जालमा पर्ने गरेको बताएका छन्।
उनले अबको अनुसन्धान कसुरदार पहिचानमा मात्र सीमित नरही पीडितको शारीरिक, मानसिक र आर्थिक क्षतिको मूल्याङ्कन गरी क्षतिपूर्तिको मागसमेत अघि बढाइने जानकारी दिएका छन्। साथै, वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा र कानुनी सहजीकरणका लागि भारतसँगै खाडी मुलुक, युरोप, अमेरिका र मलेसियामा पनि प्रहरी सहचारीको आवश्यकता रहेको बताएका छन्।








