यस्ताे रहनेछ शनिबारसम्मको मौसम
काठमाडौं । बिहीबारदेखि आगामी शनिबारसम्म देशभर सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस अवधिमा हिमाली, पहाडी तथा तराई भू–भागका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ भने केही स्थानमा मेघगर्जनसहित भारी वर्षा तथा हावाहुरीको समेत सम्भावना छ।
बिहीबार देशभर सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ। हिमाली भू–भागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
कोशी प्रदेशको तराई तथा मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू–भागमा हावाहुरी चल्न सक्नेछ।
बिहीबार राति कोशी प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भाग तथा केही तराई क्षेत्रमा पनि वर्षा हुन सक्नेछ।
कोशी प्रदेशका पहाडी तथा तराई भू–भाग र बागमती तथा गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
शुक्रबार पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपात र तराईका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ।
मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागमा हावाहुरी चल्न सक्नेछ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
शुक्रबार राति मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका थोरै स्थानमा पनि वर्षाको सम्भावना छ।
कोशी प्रदेशका पहाडी तथा तराई भू–भाग र बागमती तथा गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।
शनिबार दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भू–भागका केही तथा पहाडी र तराई भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।
शनिबार राति हिमाली भू–भागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भू–भागका केही र तराईका धेरै स्थानमा मध्यम वर्षा हुन सक्नेछ।
मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।








