१६ बैशाख २०८१, आइतबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद ‘गम्भीर संकटतर्फ’

प्रकाशित मिति :  2 July, 2020 6:58 pm


काठमाडौं,१८ असार ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको चालु अधिवेशन अन्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेलगत्तै सत्तारुढ नेकपाभित्रको विवाद गम्भीर संकटतर्फ धेकेलिएको उक्त पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराएका छन् ।

आजको स्थायी कमिटी बैठकपछि प्रवक्ता श्रेष्ठले पत्रकारहरुसँग कुरा गर्दै ‘ यो परिस्थितिको बीचमा पार्टी एकता गम्भीर संकटको मोडमा’ पुगेको बताएका हुन् । यद्यपी नेताहरु पार्टी एकतालाई हरहालतमा रक्षा गर्न, सुदृढ गर्न, सरकार र राष्ट्रको आवश्यकतालाई पुरा गर्ने गरि अगाडि बढ्ने बताएका छन् ।

विवादकैबीच संघीय संसदको चालु अधिवेशन अन्त्य

संघीय संसदको चालु अधिवेशन अन्त्य गर्नेबारे सभामुखसँग पनि छलफल भएको थिएन । प्रतिपक्षी दल, सभामुखसँग छलफल गरेर संघीय संसदको चालु अधिवेशन अन्त्य गर्ने परम्परा छ । तर, नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले आजै अधिवेशन अन्त्य गर्न चाहेको जानकारी पाएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोक्न खोजेका थिए ।

यस विषयमा प्रधानमन्त्री ओली सकारात्मक पनि भएका थिए । सहमति विपरित प्रधानमन्त्रीले तत्कालै मन्त्रिपरिषद् बैठक बसालेर चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरे । सिफारिस भएको डेढ घण्टामै राष्ट्रपतिले चालु अधिवेशन आज अपरान्ह ५ बजेदेखि अन्त्य भएको पत्र संसदलाई पठाईन् ।

सरकारको यो निर्णयपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठकमा ‘मन्त्रिपरिषद् बैठक नबस्ने कुरा भएको र त्यस प्रकारको संसद अन्त्य गर्ने निर्णय पनि नगर्ने समझदारी भएको थियो त्यसैले यस्तो नहुनुपर्ने हो’ भनेका थिए । समझदारी विपरीत  प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले संघीय संसदको चालु अधिवेशन अन्त्य गरेपछि प्रचण्डसहितका नेता झस्किएका थिए ।

राष्ट्रपति-प्रधानमन्त्रीसँग जिज्ञासा

पार्टीलाई समेत जानकारी नदिएर प्रधानमन्त्री ओलीले संघीय संसदको अधिवेशन अन्त्य गरेपछि पार्टी फुटाउनका लागि अध्यादेश ल्याउन आशंकामा अध्यक्ष प्रचण्डसहितका नेतामा बढेको थियो ।

त्यसैले प्रचण्ड तत्कालै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगे र फर्केपछि प्रधानमन्त्री ओलीसँगपनि छलफल गरे । तर, राष्ट्रपति र प्रधानमन्त्री दुबैले अहिले अध्यादेश नआउने बताएको प्रचण्डले स्थायी कमिटी सदस्यहरुलाई जानकारी गराएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

को पछि हट्ने ?

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ओलीसँग ‘फाईनल’ गर्ने मनासयका साथ अगाडि बढेका छन् । प्रचण्ड नेपाल पक्षले ओलीलाई तत्कालै दुबै पदबाट हटाउन चाहन्छन् तर यसो गर्दा पार्टी एक नहुने उनीहरुको निष्कर्ष छ ।

उनीहरु अहिले नै पार्टी फुटको अपजस बोक्ने पक्षमा छैनन् । यद्यपी निकासबारे अझै प्रष्ट हुन सकेका छैनन् । प्रचण्ड नेपाल पक्षले दबाब बढाउँदै गर्दा ओलीले सिधै प्रतिवाद गरेका छन् ।

उनले आफू विरुद्ध सजिलै प्रयोग हुनसक्ने ठाँउहरु बन्द गरिदिएका छन् र आफ्ना लागि अस्त्र तयार पारेका छन् । संसद अधिवेशन अन्त्य त्यसको उदारण हो । विहिबारसम्म आउँदा नेकपाभित्रको लडाईले नयाँ आकार ग्रहण गरेको छ । यद्यपी सहमतिका लागि स्थायी कमिटी बैठक दुईदिनका लागि स्थगित गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !