रसुवाको भोटेकोशी बाढीः १ हजार ३ सय ४२ शव फेला, ९८ जनाको सनाखत
काठमाडौं । रसुवाको भोटेकोशी–त्रिशूली करिडोरमा भदौ १० गते आएको भीषण बाढीमा परी हालसम्म १ हजार ३ सय ४२ जनाको शव फेला परेको छ। तीमध्ये ९८ जनाको सनाखत गरी परिवारलाई बुझाइसकिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले आइतबार साँझ आयोजित नियमित प्रेस ब्रिफिङमा बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित राज्यका विभिन्न संयन्त्र, प्राविधिक तथा विज्ञ टोली खोज तथा उद्धारमा परिचालित रहेको जानकारी दिनुभयो। खोज तथा उद्धार कार्यमा अन्तर्राष्ट्रिय विज्ञहरूले समेत सहयोग गरिरहेको उहाँले बताउनुभयो।
बाढीबाट प्रभावित विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा समेत खोजी कार्य जारी रहेको प्राधिकरणले जनाएको छ। हाल त्रिशूली–३ ए आयोजनाको सुरुङमा १६० मिटर, त्रिशूली–३ बीमा ३० मिटर, रसुवागढीमा २७५ मिटर, लाङटाङमा १५० मिटर र चिलिमेमा १७० मिटरसम्म पुगेर खोजी भइरहेको छ। अपर त्रिशूली–१ को टनेलसम्म पनि खोजी टोली पुगेको प्राधिकरणले जनाएको छ।
प्रवक्ता महतका अनुसार बाढी प्रभावित खोला किनारको वस्तुस्थिति निरीक्षण तथा विवरण संकलनका लागि नेपाल प्रहरीको श्रव्यदृश्य विज्ञ टोलीले ड्रोन प्रयोग गरिरहेको छ। बेपत्ता विदेशी पर्यटकका आफन्त तथा उद्धार भएर आएका पर्यटकलाई सहजीकरण गर्न पर्यटक प्रहरीसमेत परिचालन गरिएको उहाँले जानकारी दिनुभयो।
बाढीमा फेला परेका तथा बेपत्ता व्यक्तिको पहिचानका लागि आफन्त तथा नातेदारको डीएनए परीक्षणसमेत भइरहेको प्राधिकरणले जनाएको छ। खोज, उद्धार तथा राहत कार्यको समीक्षा गर्न आइतबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३६औँ बैठकसमेत बसेको थियो। यातायात व्यवस्थापन तथा बाढी प्रभावित क्षेत्रमा आवश्यक समन्वयका कामसमेत भइरहेको प्राधिकरणले जनाएको छ।
–न्युज एजेन्सी नेपाल









