२२ भदौ २०८३, सोमबार

काठमाडौंमा ‘जुम्ली स्याउ प्रदर्शनी तथा बिक्री सप्ताह’ सुरु, अर्गानिक उत्पादनको प्रवर्द्धनमा सरकारको जोड

प्रकाशित मिति :  7 September, 2026 5:07 pm


काठमाडौं । काठमाडौंको भद्रकालीस्थित नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को परिसरमा सोमबारदेखि ‘जुम्ली स्याउ प्रदर्शनी तथा बिक्री सप्ताह’ सुरु भएको छ।

जुम्लाको अर्गानिक स्याउको प्रचार–प्रसार तथा बजार प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो। प्रदर्शनीको पहिलो दिन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले प्रदर्शनी स्थलको निरीक्षण तथा अवलोकन गरेकी छन्।

सो क्रममा उनले जुम्ली स्याउको गुणस्तर र यसको विशिष्ट पहिचानलाई मध्यनजर गर्दै यसको ब्रान्डिङ र व्यवस्थित बजार व्यवस्थापनका लागि सरकार प्रतिबद्ध रहेको बताइन्।

मन्त्री चौधरीले अर्गानिक उत्पादनलाई प्रोत्साहन दिनु राज्यको प्राथमिकता रहेको उल्लेख गर्दै नेपाली स्याउलाई स्वदेशी बजारमा स्थापित गर्न सरकारी तवरबाट आवश्यक नीतिगत तथा व्यावहारिक पहल गरिने बताइन्।

स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदा किसानको आर्थिक जीवनस्तरमा सुधार आउने बताउँदै उनले जुम्ली स्याउजस्ता मौलिक उत्पादनको संवर्द्धनका लागि यस्ता प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरिन्।

साताव्यापी रूपमा चल्ने यस प्रदर्शनीमा जुम्लाका विभिन्न बगैँचाबाट ल्याइएका अर्गानिक स्याउ उपभोक्ताका लागि प्रत्यक्ष बिक्री वितरणमा राखिएका छन्।

प्रदर्शनीमार्फत जुम्ली स्याउको बजार विस्तारमा सहयोग पुग्ने र उपभोक्ताले प्रत्यक्ष रूपमा गुणस्तरीय अर्गानिक फलफूल प्राप्त गर्ने अपेक्षा गरिएको छ।

–न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !