२२ भदौ २०८३, सोमबार

भोटेकोशी बाढीपछि राष्ट्रपतिद्वारा राष्ट्रका नाममा सम्बोधन, राष्ट्रिय एकता र जलवायु न्यायका लागि आह्वान

प्रकाशित मिति :  7 September, 2026 5:09 pm


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयमित हुँदै एकताबद्ध हुन आह्वान गरेका छन्।

भदौ १० गते हिमनदीको बरफ र चट्टानसहित खसेको हिमपहिरोपछिको बाढीले पुर्‍याएको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै उनले राष्ट्रका नाममा विशेष सम्बोधन गरेका हुन्। सम्बोधनमा राष्ट्रपति पौडेलले प्राकृतिक प्रकोपलाई ‘कहालीलाग्दो र अकल्पनीय’ संज्ञा दिएका छन्।

बाढी र पहिरोका कारण जनधनको ठूलो क्षति हुनुका साथै सडक, पुल र जलविद्युत् आयोजनाजस्ता राष्ट्रका महत्वपूर्ण पूर्वाधार ध्वस्त भएकोमा उनले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

राष्ट्रपति पौडेलले विपत्तिमा परी ज्यान गुमाउने नेपाली तथा विदेशी नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्।

नेपालले आफ्नो भूमिमा रहेका हरेक विदेशी नागरिकलाई परिवारको सदस्यसरह मान्ने उल्लेख गर्दै उनले प्रभावित देशका सरकार तथा कूटनीतिक नियोगसँग प्रभावकारी समन्वय भइरहेको जानकारी दिएका छन्।

जोखिमपूर्ण अवस्थामा ज्यानको प्रवाह नगरी उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, स्थानीय प्रतिनिधि र स्वयंसेवकहरूको प्रशंसा गर्दै राष्ट्रपतिले उनीहरूको कार्यलाई नेपाली राष्ट्रिय चरित्रको उत्कृष्ट नमुनाका रूपमा चित्रण गरेका छन्। भौगोलिक विकटता र प्रतिकूल मौसमका बाबजुद खोजी कार्यलाई निरन्तरता दिन र कुनै पनि अवस्थामा उद्धार कार्य परित्याग नगर्न उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

उद्धार गरिएका नागरिकका लागि स्वच्छ खानेपानी, खाद्यान्न, औषधि र सुरक्षित आश्रयस्थलको सुनिश्चितता गर्न राष्ट्रपतिले जोड दिएका छन्। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र गर्भवती महिलाको संरक्षणमा संवेदनशील हुन उनले आग्रह गरेका छन्।

मृतकहरूको पहिचानका लागि डीएनए नमुना संकलन र वैज्ञानिक अभिलेखीकरण गरी प्रक्रियालाई विश्वसनीय बनाउन उनले सरकारलाई सुझाव दिएका छन्।

विपद्को समयमा प्राविधिक विशेषज्ञ, चिकित्सकीय टोली र उपकरणसहित सहयोग गर्ने छिमेकी मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायप्रति राष्ट्रपतिले कृतज्ञता व्यक्त गरेका छन्। यसै सन्दर्भमा उनले हिमाली क्षेत्रको नाजुक परिस्थितिलाई विश्वव्यापी तापक्रम वृद्धिसँग जोड्दै अन्तर्राष्ट्रिय मञ्चमा ‘जलवायु न्याय’का लागि ठोस कदम चाल्न विश्व समुदायलाई आह्वान गरेका छन्।

राष्ट्रपति पौडेलले वर्तमान समय राजनीतिक विवाद वा एकअर्कालाई दोषारोपण गर्ने नभई राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने बेला भएको स्पष्ट पारेका छन्।

उनले भनेका छन्, “यो विभाजनको समय होइन, यो त पुनर्निर्माण र आर्थिक पुनरुत्थानको समय हो।”

साथै, भविष्यमा यस्ता जोखिम न्यूनीकरणका लागि नेपालको वर्तमान विकास मोडेलमाथि पुनर्विचार गर्नुपर्ने आवश्यकता उनले औंल्याएका छन्।

–न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !