उमेरसमूहमा राष्ट्रिय टेबलटेनिस प्रतियोगिता हुने
काठमाडौं । आरम्भ कप राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिताको पहिलो संस्करण भदौको अन्त्यदेखि हुने भएको छ ।
उक्त प्रतियोगिता भदौ ३१ देखि असोज २ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने भएको हो । अखिल नेपाल टेबल टेनिस संघको सहकार्यमा काठमाडौं–४, ठमेलस्थित आरम्भ संस्कार विद्यालयको वार्षिक कार्यक्रमअन्तर्गत प्रतियोगिता आयोजना हुन लागेको हो ।
आयोजक आरम्भ संस्कार विद्यालयले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत प्रतियोगिताका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा देशभरका विभिन्न विद्यालयबाट महिला र पुरुष दुवैतर्फका खेलाडी तथा टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा टिम र सिंगल्सतर्फ यु–१०, यु–१२, यु–१४ र यु–१६ गरी कुल १० स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
सिंगल्स स्पर्धामा शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीले क्रमशः ६ हजार, ३ हजार र १ हजार ५ सय रुपैयाँ नगदसहित ट्रफी र पदक प्राप्त गर्नेछन् ।
विद्यालयस्तरमा टेबलटेनिस खेलको विकास तथा विस्तारसँगै प्रतिभावान् खेलाडीको पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । आरम्भ संस्कार विद्यालयले खेलकुदलाई प्राथमिकतामा राख्दै विद्यार्थीलाई विशेष प्रोत्साहन प्रदान गर्दै आएको जनाएको छ ।
हाल विद्यालयले विभिन्न खेल विधामा आबद्ध १६ जना खेलाडी विद्यार्थीलाई शतप्रतिशत निःशुल्क छात्रवृत्ति प्रदान गर्दै आएको छ । टेबलटेनिसतर्फ ५, तेक्वान्दो र बास्केटबलतर्फ समान ३ तथा ब्याडमिन्टन र क्रिकेटतर्फ समान १ जना खेलाडी विद्यार्थी रहेको आयोजकले जनाएको छ ।
– न्युज एजेन्सी नेपाल









