२४ भदौ २०८३, बुधबार

जनताले काम गर्न पठाएका हुन्, राजीनामा दिन सकिँदैनः गृहमन्त्री गुरुङ

प्रकाशित मिति :  9 September, 2026 7:40 am


ललितपुर । गृहमन्त्री सुधन गुरुङले कसैले राजीनामा माग्दैमा आफूहरूले राजीनामा नदिने बताएका छन्।

उनले नेपाली जनताले दुई तिहाइ बहुमतको म्यान्डेट दिएर काम गर्न पठाएको भन्दै जनमतको सम्मान गर्दै जिम्मेवारीबाट पछि नहट्ने स्पष्ट पारे।

मंगलबार ललितपुरमा आयोजित शहीद विकास महर्जनको शालिक अनावरण कार्यक्रममा बोल्दै गुरुङले आफूहरूलाई प्राप्त जनमत र इतिहास कसैले परिवर्तन गर्न नसक्ने बताए।

जनताले विश्वास गरेर सरकारमा पठाएकाले उक्त विश्वासको सम्मान गर्दै काम गर्ने उनको भनाइ थियो।

“इतिहास हो, फेर्न सकिँदैन। नेपाली जनताले दुई तिहाइ बहुमत दिएर जाऊ, काम गर भनेर हामीलाई दिएको विश्वास हो, फेर्न सकिँदैन, राजीनामा पनि दिन सकिँदैन,” उनले भने।

गृहमन्त्री गुरुङले आफूहरूलाई कुनै व्यक्ति वा समूहले नभई नेपाली जनताले निर्वाचित गरेको दाबी गरे। जनताको मतबाट प्राप्त जिम्मेवारी भएकाले कसैले माग्दैमा राजीनामा दिने अवस्था नरहेको उनले बताए।

उनले आफूहरू राजनीति गरेर शासन गर्न नभई जनताको सेवा गर्न सरकारमा आएको बताए। सरकारमा रहँदा जनताको हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले गृह प्रशासनलाई जनताको सेवामा केन्द्रित गर्ने बताए।

“तपाईंहरूलाई राजनीति गरेर राज गर्न आएका होइनौँ हामी, हामी सेवा गर्न आएका हौँ। र सम्पूर्ण गृह प्रशासन तपाईंहरूको सेवामा लाग्नेवाला छ,” उनले भने।

गुरुङले गृह प्रशासनलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा परिचालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। शान्ति–सुरक्षा, प्रशासनिक सेवा तथा जनतासँग प्रत्यक्ष जोडिएका विषयमा गृह प्रशासनलाई जनमुखी बनाउने उनको भनाइ थियो।

उनले सरकारप्रति जनताको विश्वास कायम राख्दै आफूहरू अघि बढ्ने बताए। जनताले दिएको जिम्मेवारी पूरा गर्नु आफ्नो दायित्व रहेको उल्लेख गर्दै उनले त्यसबाट विचलित नहुने स्पष्ट पारे।

–न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !