२४ भदौ २०८३, बुधबार

काँग्रेसको वडा, नगर र प्रदेश अधिवेशनको कार्यतालिका परिमार्जन

प्रकाशित मिति :  9 September, 2026 7:54 am


काठमाडौं । नेपाली काँग्रेसले १५औँ महाधिवेशनअन्तर्गत मातहतका विभिन्न तहका अधिवेशनको निर्वाचन कार्यतालिका परिमार्जन गरेको छ। प्राकृतिक विपत्ति र राष्ट्रिय शोकका कारण यसअघि तय गरिएको कार्यतालिका हेरफेर गरिएको हो।

मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले वडा, गाउँ तथा नगर र प्रदेश सभा क्षेत्रीय तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनको नयाँ मिति तय गरेको हो।

समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार यसअघि भदौ २४ गतेका लागि तय गरिएको वडा अधिवेशन अब असोज ३ र ४ गते हुनेछ। धादिङ, नुवाकोट, नवलपरासी र चितवनलगायत जिल्लामा बाढी तथा पहिरोबाट भएको ठूलो जनधनको क्षति र राष्ट्रिय शोकको अवस्थालाई ध्यानमा राख्दै अधिवेशनको मिति सारिएको उनले बताए।

परिमार्जित कार्यतालिकाअनुसार गाउँ तथा नगरपालिकाको अधिवेशन असोज ७ गते हुनेछ। प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १० गते गर्ने निर्णय भएको छ।

त्यसैगरी, काँग्रेसको १५औँ महाधिवेशन असोज १६, १७, १८ र १९ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरिएको समितिले जनाएको छ। जिल्ला र प्रदेश अधिवेशनको कार्यतालिका भने दोस्रो चरणमा सार्वजनिक गरिने भएको छ।

विदेशस्थित जनसम्पर्क समितिहरूमध्ये हालसम्म १८–१९ वटा समितिको महाधिवेशन सम्पन्न भइसकेको र बाँकी समितिलाई असोज १० गतेभित्र अधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको संयोजक खड्काले बताए।

“मुलुकमा आइलागेको प्राकृतिक विपत्ति र राष्ट्रिय शोकका कारण यसअघि तय गरिएको निर्वाचन कार्यतालिकामा हेरफेर गर्नुपरेको हो,” खड्काले भने।

उनका अनुसार परिमार्जित कार्यतालिकाअनुसार महाधिवेशनका बाँकी प्रक्रिया अघि बढाइनेछ। निर्वाचन समितिले क्रियाशील सदस्य तथा पार्टीका विभिन्न तहका नेता–कार्यकर्तालाई नयाँ कार्यतालिकाअनुसार अधिवेशनमा सहभागी हुन आह्वान गरेको छ।

संविधान र पार्टी विधानको मर्मअनुसार निर्धारित समयमै १५औँ महाधिवेशन सम्पन्न गर्न सञ्चारमाध्यमबाट समेत सकारात्मक सहयोगको अपेक्षा गरिएको खड्काले बताए।

–न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !