बाढी प्रभावित क्षेत्रमा एनसेलले स्याटलाइटमार्फत निःशुल्क इन्टरनेट दिने
काठमाडौं । भोटेकोशी नदीको बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई सहज बनाउन एनसेलले स्याटलाइट प्रविधिमा आधारित इन्टरनेट सेवा उपलब्ध गराउन थालेको छ।
सञ्चार सञ्जाल अवरुद्ध भएका स्थानमा समेत इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यले एनसेलले युटेलस्याटको लो अर्थ अर्बिट (एलईओ) स्याटलाइटबाट सञ्चालित उपकरणहरू प्रभावित क्षेत्रका महत्त्वपूर्ण स्थानमा जडान गर्न थालेको हो।
एनसेलका अनुसार उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा संलग्न सरकारी निकायसँग समन्वय गरी पहिचान गरिएका स्थानमा उपकरण जडान भइरहेको छ। बाढी प्रभावित समुदाय, होल्डिङ सेन्टर तथा राहत वितरण केन्द्र, अस्थायी शिविर र आपत्कालीन कार्य हुने स्थानमा हालका लागि निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ।
हालसम्म नुवाकोटका तीन महत्त्वपूर्ण स्थानमा स्याटलाइटमार्फत इन्टरनेट पहुँच स्थापना गरिएको छ। बाढी प्रभावित अन्य स्थानमा समेत उपकरण जडान गर्ने काम जारी रहेको एनसेलले जनाएको छ।
एनसेलका प्रमुख कर्पोरेट तथा नियामक अधिकृत डिल्ली राम श्रेष्ठले सडक पूर्वाधार र सञ्चार सेवा प्रभावित भएका स्थानमा स्याटलाइट सञ्चार पहुँच स्थापना गरिएको बताए।
“हामीले सडक पूर्वाधार र सञ्चार सेवा गम्भीर रूपमा प्रभावित भएको नुवाकोटका तीन स्थानमा स्याटलाइट सञ्चार पहुँच स्थापना गरेका छौँ। यसले उद्धार तथा राहत कार्यलाई सहज बनाउनुका साथै प्रभावित स्थानीयवासीलाई यो कठिन समयमा सम्पर्कमा रहन मद्दत गर्नेछ,” उनले भने।
कम्पनीका अनुसार जमिनमा जडान गरिएको उपकरणले स्याटलाइटबाट इन्टरनेट सिग्नल प्राप्त गर्छ र त्यसपछि वरपरका क्षेत्रमा अर्को उपकरणमार्फत वाईफाई सेवा उपलब्ध गराउँछ। सामान्य इन्टरनेट तथा मोबाइल सेवा अवरुद्ध भए पनि यस प्रविधिबाट इन्टरनेट सेवा सञ्चालन गर्न सकिने एनसेलको भनाइ छ।
स्याटलाइट प्रविधिले उच्च गति र कम लेटेन्सीको कनेक्टिभिटी उपलब्ध गराउने भएकाले प्रभावित क्षेत्रका बासिन्दा तथा उद्धारमा खटिएका टोलीले सन्देश आदानप्रदान, इन्टरनेटमा आधारित कल, आवश्यक सूचना प्राप्त गर्न, ब्राउजिङ तथा राहत कार्यको समन्वयमा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ।
एनसेलले उक्त सेवा सञ्चालनका लागि नेपाल दूरसञ्चार प्राधिकरणलगायत सम्बन्धित सरकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गरिसकेको जनाएको छ।
यसअघि बाढी प्रभावित क्षेत्रका ३ लाखभन्दा बढी ग्राहकलाई एनसेलले दैनिक निःशुल्क भ्वाइस, डाटा र एसएमएस सेवा उपलब्ध गराउँदै आएको छ। कम्पनीले एनसेल फाउन्डेसनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उद्धार, राहत तथा पुनर्स्थापनाका लागि १ करोड रुपैयाँ सहयोगसमेत गरेको जनाएको छ।
एनसेलले सडक अवरुद्ध र फाइबर क्षतिग्रस्त हुँदा दूरसञ्चार सेवा प्रभावित भएका स्थानमा आपत्कालीन सञ्चारलाई प्राथमिकता दिइरहेको जनाएको छ। कम्पनीका अनुसार विपद्को समयमा कनेक्टिभिटी सुविधा मात्र नभई उद्धार, राहत तथा प्रभावित समुदायबीच सम्पर्क कायम राख्ने महत्वपूर्ण माध्यम भएकाले सेवा निरन्तरताका लागि सम्भव सबै उपाय अपनाइनेछ।









