नदी किनारमै सडक बनाउने सोच पुनरावलोकन गर्न आवश्यकः प्रमुख आचार्य
काठमाडौं । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नदी किनारबाट सडक निर्माण गर्ने सोच र अभ्यासलाई पुनरावलोकन गर्नुपर्ने बताएका छन्।
ललितपुरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै आचार्यले सडक निर्माणको नीति र अभ्यासमा पुनर्विचार गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन्। सडक निर्माण गर्दा तत्काल दूरी छोटो हुने वा निर्माण सामग्री सहज रूपमा उपलब्ध हुने पक्षलाई मात्र नभई दीर्घकालीन रूपमा मुलुकको अर्थतन्त्रमा पर्ने प्रभावसमेत मूल्यांकन गर्नुपर्नेमा उनले जोड दिए।
विगतमा नदी किनारमा सडक निर्माण गर्दा निर्माण सामग्री प्राप्त गर्न सहज हुने, छिटो निर्माण गर्न सकिने लगायतका कारणले यस्तो अभ्यास अघि बढाइएको हुन सक्ने उनले बताए। तर अब सडक निर्माणका दीर्घकालीन प्रभावबारे गम्भीर भएर सोच्नुपर्ने उनको भनाइ छ।
आचार्यले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) र प्रारम्भिक वातावरणीय परीक्षण (आईईई)लाई कागजी प्रक्रिया पूरा गर्ने माध्यमका रूपमा मात्र लिन नहुने बताए। ईआईए र आईईई वास्तविक अध्ययन तथा जोखिम मूल्यांकनमा आधारित हुनुपर्ने भन्दै उनले सम्बन्धित मन्त्रालयका सचिवको ध्यानाकर्षण गराए।
‘अलि दूरी छोटो हुन्छ भन्ने हिसाबले मात्रै गर्यौं कि हामीले? यसले लङ टर्ममा देशको सिङ्गो इकोनोमीमा के इम्प्याक्ट पार्छ भन्ने कुरामा अब ध्यान दिनुपर्ने हो कि? हाम्रो ईआईए र आईईई केवल पेपर कपी–पेस्ट गरेर रिपोर्ट बुझाइदिने विषय त भएनन् नि?’ उनले भने।
एउटा राजमार्गमा पहिरो जाँदा सिङ्गो देशको कनेक्टिभिटी प्रभावित हुने अवस्था किन आएको हो भन्ने समीक्षा गर्नुपर्ने उनले बताए। ‘किन हाम्रो एउटा हाइवेको एउटा पहिरो गएपछि सिङ्गो देश कनेक्टिभिटीबाट टुट्छ? कहाँनेर चुक्यौँ हामी?’ उनले प्रश्न गरे।
मानिसको सबैभन्दा ठूलो सम्पत्ति जीवन भएकाले सडक सुरक्षालाई प्राथमिकतामा राखेर नीति परिवर्तन गर्नुपर्नेमा पनि आचार्यले जोड दिए। शहरी क्षेत्रमा दैनिक ठूलो संख्यामा सडक दुर्घटना भइरहेको उल्लेख गर्दै उनले दुर्घटनाका कारण पहिचान गरी नीतिगत तहबाटै सुधार गर्नुपर्ने बताए।
‘पोलिसीमै चेन्ज गरौँ। जे–जे भयो, अब त्यसलाई नदोहोरिने गरी सुधार गर्न सक्यौँ भने यो सिम्पोजियम दिगो यातायात, खासगरी अर्बान मोबिलिटीका लागि ठूलो अर्थ राख्छ,’ उनले भने।
शहरी क्षेत्रमा यातायातका विभिन्न माध्यम र ट्राफिक व्यवस्थापनसम्बन्धी तथ्यांकको अध्ययन आवश्यक रहेको बताउँदै आचार्यले सडक तथा यातायात पूर्वाधार निर्माणमा दीर्घकालीन आर्थिक, वातावरणीय र मानवीय प्रभावलाई केन्द्रमा राखेर नीति बनाउनुपर्नेमा जोड दिए।
उनका अनुसार विगतका कमजोरीलाई नीतिगत तहबाट समीक्षा गरी आगामी दिनमा त्यस्ता समस्या दोहोरिन नदिने गरी स्पष्ट निर्णयसहित नीति परिवर्तन गर्न सके मात्रै दिगो यातायात र सहरी गतिशीलताको लक्ष्य हासिल गर्न सकिनेछ।









