भोटेकोशी बाढीबारे नेपालको आग्रहमा लस एन्ड ड्यामेज कोषको जवाफ, शीघ्र प्रतिक्रिया दिने आश्वासन
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिका लागि तत्काल सहयोग माग्दै नेपालले पठाएको पत्रको जवाफमा जलवायुजन्य हानि तथा क्षति सम्बोधन गर्ने कोष (फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज–एफआरएलडी) ले विद्यमान प्रक्रिया र कार्यविधिभित्र रहेर शीघ्र प्रतिक्रिया दिने आश्वासन दिएको छ ।
एफआरएलडीका बोर्डका सहअध्यक्षद्वय क्यामिला मिनर्भा रोड्रिग्वेज ताभारेज र जर्ज बोर्स्टिङले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तथा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीलाई बुधबार पठाएको पत्रमा नेपालले गरेको तत्काल सहयोगको आग्रहलाई सम्बोधन गर्न बोर्डसँग छलफल भइरहेको उल्लेख गरेका छन् ।
नेपालले गत अगस्ट ३१ मा भोटेकोशी बाढीबाट भएको व्यापक जनधनको क्षतिपछि तत्काल सहयोग उपलब्ध गराउन आग्रह गर्दै एफआरएलडीलाई पत्र पठाएको थियो । त्यसको जवाफ दिँदै कोषले आफ्नो विद्यमान म्यान्डेट, संरचना, नीति तथा प्रक्रियाभित्र उपलब्ध विकल्पमाथि विचार गरेर सकेसम्म छिटो र प्रभावकारी प्रतिक्रिया दिन बोर्डलाई सिफारिस गरिएको जनाएको छ ।
पत्रमा एफआरएलडीले नेपालमा भएको विपद्प्रति गहिरो समवेदना व्यक्त गर्दै नेपाली जनताप्रति ऐक्यबद्धता जनाएको छ । साथै, सरकारले प्रारम्भिक क्षति मूल्यांकन, आधिकारिक तथ्यांक, भू–उपग्रहबाट प्राप्त सूचना तथा क्षतिको अनुमान उपलब्ध गराउने तयारी गरेकोमा प्रशंसा गरेको छ ।
नेपाल सरकारका प्रयास अहिले विपद्को प्रतिकार्यमा केन्द्रित रहेको उल्लेख गर्दै एफआरएलडीको सचिवालयले आवश्यक सूचना तथा विवरणका विषयमा नेपाल सरकारसँग सम्पर्कमा रहने जनाएको छ ।
एफआरएलडीले तत्काल कति रकम वा कस्तो सहायता उपलब्ध गराउने भन्ने विषयमा भने पत्रमा स्पष्ट निर्णय सार्वजनिक गरेको छैन । कोषको बोर्डले विद्यमान मापदण्ड, संरचना र प्रक्रियाअनुसार नेपालको आग्रहबारे निर्णय गर्ने संकेत गरेको छ ।










