२६ भदौ २०८३, शुक्रबार

भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न दुई समिति गठन

प्रकाशित मिति :  11 September, 2026 7:05 pm


काठमाडौँ । भोटेकोशी बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न पूर्वाधार विकास मन्त्रालयले समिति गठन गरेको छ।

यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा गठित समितिले बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको क्षति, क्षतिपूर्तिको आधार तथा यससँग सम्बन्धित अन्य विषयमा अध्ययन गर्नेछ। समितिले १५ दिनभित्र आवश्यक राय, सुझावसहितको प्रतिवेदन मन्त्रीसमक्ष पेश गर्नुपर्नेछ।

समितिका सदस्यमा पूर्वाधार विकास मन्त्रालयका उपसचिव निर्मला गुरुङ, सिडिई शंकर सिंह धामी, सल्लाहकार आरपी महतो, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका तर्फबाट दिलबहादुर श्रेष्ठ, श्री श्रेष्ठ र हरिभक्त श्रेष्ठ तथा यातायात मजदुर संघ–संगठनका तर्फबाट धर्मराज भण्डारी, भीम ज्वाला राई र दीपक केसी रहेका छन्।

यसैगरी, यातायात क्षेत्रसँग सम्बन्धित नीति, नियम, ऐन, कानुन तथा मापदण्डलाई समयानुकूल परिमार्जन गर्न अर्को समिति पनि गठन गरिएको छ।

पूर्वाधार विकास मन्त्रालयका सहसचिव जंगबहादुर डाँगीको संयोजकत्वमा गठित उक्त समितिले भविष्यमा आउन सक्ने सम्भावित समस्या न्यूनीकरण तथा यातायात क्षेत्रलाई थप व्यवस्थित बनाउन आवश्यक कानुनी र नीतिगत सुधारबारे अध्ययन गर्नेछ।

समितिका सदस्यमा सिडिई जीबेन्द्र मिश्र, मणिराम भुसाल, इन्जिनियर सागर पन्थी, अनुकूल निधि, कानुन अधिकृत जानुका सिवाकोटी तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका तर्फबाट डकेनाथ गौतम, भानुभक्त बराल र पुरुषोत्तम सिम्खडा रहेका छन्।

उक्त समितिले ४५ दिनभित्र अध्ययन गरी आवश्यक राय, सुझावसहितको प्रतिवेदन मन्त्रालयमा पेश गर्नुपर्नेछ।

मन्त्रालयका अनुसार दुवै समितिको प्रतिवेदनका आधारमा बाढीबाट प्रभावित यातायात क्षेत्रको क्षति व्यवस्थापन गर्नुका साथै आगामी दिनमा यस्ता विपद्बाट उत्पन्न हुन सक्ने समस्या न्यूनीकरणका लागि आवश्यक नीति तथा कानुनी सुधार अघि बढाइने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !