मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ : उपेन्द्र यादव
जनकपुर । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक रहेको बताएका छन् ।
शनिबार जनकपुरमा अग्रगामी मोर्चाले आयोजना गरेको कार्यक्रममा बोल्दै यादवले संघीयता, स्वायत्तता र स्वशासनलाई बलियो बनाउँदै संविधान संशोधन गर्नुपर्ने बताए ।
उनले मधेस प्रदेशको वर्तमान संरचनाले वास्तविक स्वशासन सुनिश्चित नगरेको दाबी गर्दै आफ्नै प्रहरी, प्रशासन, न्याय, शासन र कानुनको अधिकार नहुँदासम्म प्रदेशले स्वशासनको अनुभूति गर्न नसक्ने बताए ।
“आफ्नो पुलिस, प्रशासन, न्याय, शासन र कानून नभएसम्म आफ्नो राज्य भएको अनुभूति हुँदैन,” उनले भने ।
यादवले मधेस प्रदेशलाई थप अधिकारसहितको स्वायत्त शासन संरचनामा लैजान संविधान संशोधन आवश्यक रहेको बताए । जनसंख्याका आधारमा प्रतिनिधित्व तथा राज्यका निकायमा पछाडि परेका, सीमान्तकृत र आर्थिक रूपमा विपन्न समुदायको सहभागिता सुनिश्चित गर्नुपर्ने उनको माग छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले समेत संविधान संशोधन र संघीयता सुदृढीकरणको विषय उठाउँदै आएको स्मरण गर्दै यादवले अब त्यसलाई स्पष्ट रूपमा अघि बढाउनुपर्ने बताए ।
संसदबाट अपेक्षित अधिकार प्राप्त हुन नसके सडकबाट संघर्ष अघि बढाउनुपर्ने उनको भनाइ छ । “सडकबाट अधिकार बनाइन्छ, सडकबाट इतिहास बनाइन्छ र सडकबाटै मुक्ति प्राप्त हुन्छ,” यादवले भने । उनले अग्रगामी मोर्चालाई थप विस्तार गर्नुपर्नेमा जोड दिए ।
यादवले वर्तमान राजनीतिक तथा आर्थिक संकटका लागि नेकपा एमाले नेतृत्वको सरकार जिम्मेवार रहेको आरोप लगाए । सरकार भ्रष्टाचार, कमिसनतन्त्र र दलालतन्त्रमा फसेको आरोप लगाउँदै उनले युवा आन्दोलनमाथि दमन गर्न खोजिएकै कारण जनआक्रोश विस्फोट भएको दाबी गरे ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता र नागरिक स्वतन्त्रता विगतका आन्दोलनबाट प्राप्त उपलब्धि भएको बताए । यी उपलब्धि उल्ट्याउन खोज्ने शक्तिहरू प्रतिगामी र परिवर्तनविरोधी भएको उनको आरोप छ ।
यादवले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षतिको क्षतिपूर्ति र जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा आवाज उठाउन सरकारसँग मागसमेत गरे । औद्योगिक रूपमा शक्तिशाली राष्ट्रबाट भएको प्रदूषणका कारण नेपालजस्ता मुलुकले क्षति व्यहोर्नुपरेको उनको भनाइ थियो ।
– न्युज एजेन्सी नेपाल









