देशका समस्या र जनताका एजेन्डाको एकताबाट अग्रगामी मोर्चा बन्यो : जनार्दन शर्मा
जनकपुर । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं पूर्वमन्त्री जनार्दन शर्माले देशका विद्यमान समस्या र जनताका साझा एजेन्डाको एकताबाट अग्रगामी मोर्चा गठन भएको बताएका छन् ।
शनिबार जनकपुरमा अग्रगामी मोर्चाले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले मोर्चा कुनै व्यक्ति वा शक्तिको स्वार्थबाट नभई देशका समस्या समाधान गर्ने उद्देश्यले गठन भएको दाबी गरे ।
उनका अनुसार मोर्चामा समावेशी नेतृत्वसँगै विभिन्न राजनीतिक आन्दोलन र संघर्षका अनुभव बोकेका शक्तिहरूको समिश्रण रहेको छ । मोर्चाप्रति कतिपय राजनीतिक नेताहरूले प्रश्न उठाइरहेको उल्लेख गर्दै उनले केहीमा मोर्चालाई लिएर ‘आतंक’ पैदा भएको टिप्पणी गरे ।
“अग्रगामी मोर्चा कसरी र किन बन्यो भन्ने प्रश्न उठिरहेको छ । यो मोर्चा हामीले मात्र बनाएको होइन, देशका समस्याले र साझा एजेन्डाको एकाग्रताले बनाएको हो,” शर्माले भने ।
उनले अग्रगामी मोर्चा कुनै व्यक्तिविशेषविरुद्ध नभई राष्ट्र निर्माण, राष्ट्रियताको रक्षा र देशको हितका लागि गठन भएको दाबी गरे ।
“यो केवल राजनीतिक मोर्चा मात्र होइन, समावेशी नेतृत्वको टिम पनि हो । विभिन्न आन्दोलन र संघर्षका अनुभवहरूको समिश्रणबाट यो मोर्चा निर्माण भएको हो,” उनले भने ।
शर्माले मोर्चाले विभिन्न आन्दोलनका अनुभवलाई समेट्दै देशका राजनीतिक, सामाजिक तथा आर्थिक समस्या समाधानका लागि नयाँ ढंगले अघि बढ्ने बताए ।
– न्युज एजेन्सी नेपाल









