२८ भदौ २०८३, आइतबार

भारतद्वारा नेपाललाई तीन मोड्युलर पुल हस्तान्तरण

प्रकाशित मिति :  13 September, 2026 9:16 am


काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक पूर्वाधार पुनः सञ्चालनमा ल्याउन भारत सरकारले नेपाललाई तीन वटा मोड्युलर पुल हस्तान्तरण गरेको छ ।

७०–७० मिटर लम्बाइका तीन वटा एकतर्फी मोड्युलर पुल शनिबार सडक डिभिजन कार्यालयमा आयोजित कार्यक्रममा भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले नेपाललाई हस्तान्तरण गरेका हुन् ।

गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट सडक तथा पुलमा ठूलो क्षति पुगेपछि भारत सरकारले सहयोगस्वरूप ती पुल उपलब्ध गराएको हो ।

पुल हस्तान्तरण कार्यक्रममा प्रथम सचिव सिंहले बाढीबाट क्षतिग्रस्त सडक पूर्वाधार पुनर्निर्माणका लागि भारतले आगामी दिनमा थप प्रि–फ्याब्रिकेटेड पुल उपलब्ध गराउने बताए । पहिलो पुल समयमै सञ्चालनमा आउँदा प्रभावित क्षेत्रका नागरिकको आवतजावत तथा सामान ढुवानीमा सहज हुने उनको भनाइ छ ।

उनले नेपाल र भारतबीचको घनिष्ठ सम्बन्ध तथा साझेदारीको प्रतीकका रूपमा समेत सहयोगलाई लिन सकिने बताए ।

मकवानपुर क्षेत्र नम्बर १ का सांसद प्रकाश गौतमले विपद्का बेला छिमेकीको सहयोग महत्वपूर्ण हुने भन्दै भारत सरकारलाई धन्यवाद दिए । बाढीका कारण रसुवा–नुवाकोट क्षेत्रमा राहत तथा अत्यावश्यक सामग्री पुर्‍याउनसमेत समस्या भइरहेका बेला ७० मिटर लामो पुलले आवागमन सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

बाढीका कारण देशभर ३५ भन्दा बढी पुल क्षतिग्रस्त भएको जानकारी दिँदै गौतमले थप पुल उपलब्ध गराउन नेपाल सरकारले भारत सरकारसँग आग्रह गरेको बताए । तत्काल आवश्यक रहेका क्षेत्रमा थप पुल उपलब्ध गराउने विषयमा सरकारस्तरमा द्विपक्षीय छलफल भइरहेको उनको भनाइ छ ।

सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख किरण कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामा, सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता माधवप्रसाद काफ्लेलगायतको उपस्थिति थियो ।

– न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !