जेन–जी आन्दोलनको पाठ : वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै
हेटौँडा । गत वर्षको जेन–जी आन्दोलनका क्रममा सरकारी संरचनामा ठूलो क्षति भएपछि वागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका सबै सरकारी भवनको बीमा गर्ने भएको छ ।
चालु आर्थिक वर्षदेखि प्रदेश सरकारका सम्पूर्ण सरकारी कार्यालयका भवनको बीमा गर्ने योजना अघि बढाइएको वागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाले जानकारी दिए । यसका लागि सरकारले बजेटसमेत विनियोजन गरेको छ ।
२०८२ भदौ २४ गतेको आन्दोलनका क्रममा हेटौँडासहित मकवानपुर, चितवन, काठमाडौं, ललितपुर र भक्तपुरमा प्रदेश सरकारका कार्यालय तथा संरचनामा तोडफोड र आगजनी भएको थियो । प्रदेश सरकारका २६ वटा कार्यालयका ६० वटा भवनमा क्षति पुगेको थियो ।
प्रदेश सरकारका अनुसार भौतिक पूर्वाधारतर्फ मात्रै ५७ करोड ४० लाख रुपैयाँ बराबरको क्षति भएको थियो । सवारीसाधन र जिन्सी सामग्रीसमेत जोड्दा कुल क्षति करिब १ अर्ब १० करोड रुपैयाँ पुगेको थियो ।
“गत वर्षको घटनाबाट सिक्दै हामीले यस वर्षदेखि सम्पूर्ण सरकारी कार्यालयका भवनहरूको बीमा गर्ने भनेर बजेट विनियोजन गरेका छौँ,” सचिव मरहट्टाले भने ।
मर्मत सम्भव नभएका दुई संरचना पुनर्निर्माणका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन गरिएको छ । शहरी विकास तथा भवन कार्यालय मकवानपुरको भवन पुरानै स्थानमा पुनर्निर्माण गर्ने तथा प्रदेशसभा भवन हेटौँडा–१६ र १९ मा निर्माण हुने वागमती सरकारको प्रशासनिक भवन निर्माणस्थलमा बनाउने योजना छ । दुवै संरचनाका लागि ७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।
वागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका महाशाखा प्रमुख तथा प्रमुख डिभिजनल इन्जिनियर भूपेन्द्रकुमार यादवका अनुसार ध्वस्त संरचना हटाएर नयाँ निर्माण गर्न मात्रै करिब १ अर्ब ३० करोड रुपैयाँ खर्च हुने अनुमानसहितको प्रतिवेदन प्रदेश सरकारसमक्ष पेस गरिएको छ ।
क्षति पुगेका ६० भवनमध्ये शहरी विकास तथा भवन कार्यालय मकवानपुर र प्रदेशसभा भवन पूर्ण रूपमा क्षतिग्रस्त भएकाले मर्मत गर्न नसकिएको भौतिक पूर्वाधार विकास मन्त्री भरतबहादुर केसीले बताए । यी दुईबाहेक अन्य सरकारी भवन मर्मत गरी सञ्चालनमा ल्याइसकिएको मन्त्रालयले जनाएको छ ।
यसैबीच, वागमती सरकारको एकीकृत प्रशासनिक भवन निर्माणको प्रक्रिया पनि अघि बढाइएको छ । त्यसका लागि ३१ दशमलव २ हेक्टर वन क्षेत्रमा रहेका ५ हजार २२६ वटा रुख कटान गर्ने प्रक्रिया सुरु भएको मन्त्रालयले जनाएको छ ।
प्रदेशसभा भवन पुनर्निर्माण नभएसम्म प्रदेशसभा बैठक हेटौँडा उपमहानगरपालिकाको सभाहलबाट सञ्चालन हुँदै आएको छ ।
आन्दोलनका क्रममा सरकारी स्वामित्वका भवनसँगै प्रदेश सरकारका केही कार्यालय सञ्चालन हुँदै आएका भाडाका निजी भवनमा समेत क्षति पुगेको थियो । निजी भवनको मर्मत सरकारले गर्न नमिल्ने भएकाले ती कार्यालय पुनः भाडाका भवनमा सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ ।
– न्युज एजेन्सी नेपाल









