२८ भदौ २०८३, आइतबार

मनोक्रान्ति परिवारबाट प्रधानमन्त्री राहत कोषमा ३० लाख सहयोग

प्रकाशित मिति :  13 September, 2026 7:15 pm


काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावितका लागि विकासानन्द फाउण्डेशन विश्व परिवारले प्रधानमन्त्री राहत कोषमा ३० लाख रुपैयाँ सहयोग गरेको छ।

फाउण्डेशनका केन्द्रीय सचिव क्वाण्टम सम्बुद्ध श्रेष्ठका अनुसार गुरुदेव डा. योगी विकासानन्द बाट १० लाख, गुरुमा कमलेश्वट्टी आनन्दबाट १ लाख तथा मनोक्रान्ति साधक–साधिकाबाट प्राप्त रकम संकलन गरी ३० लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो।

फाउण्डेशनका प्रतिनिधिले आइतबार सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरेका हुन्।

बाढी प्रभावितलाई सहयोग जुटाउने उद्देश्यले फाउण्डेशनले भदौ २७ गते काठमाडौंमा एकदिने ध्यान साधना कार्यक्रमसमेत आयोजना गरेको थियो। कार्यक्रममा सहभागी तथा देश–विदेशमा रहेका मनोक्रान्ति प्रेमीबाट प्राप्त सहयोग रकम राहत कोषमा हस्तान्तरण गरिएको फाउण्डेशनले जनाएको छ।

“आफ्नो लागि साधना–अरूका लागि सेवा” भन्ने उद्देश्यका साथ अघि बढेको विकासानन्द फाउण्डेशन विश्व परिवारले देश तथा समाजलाई आवश्यक पर्दा सहयोगमा निरन्तर जुट्ने जनाएको छ।

प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने सम्पूर्ण साधक–साधिकाप्रति फाउण्डेशनले आभार व्यक्त गरेको छ।



प्रतिक्रिया दिनुहोस !