१२ कार्तिक २०८३, बुधबार

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्य : संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस

प्रकाशित मिति :  28 October, 2026 12:17 pm


काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वभरका शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न जोड दिएका छन् । २६ वर्षअघि पारित सुरक्षा परिषद्को प्रस्ताव १३२५ को मर्मलाई व्यवहारमा उतार्न नसकिएको भन्दै उनले शान्ति वार्ता, बजेट विनियोजन र नीति निर्माणका हरेक तहमा महिलाको उपस्थिति अपरिहार्य रहेको बताएका छन् ।

मङ्गलबार सम्बोधन गर्दै महासचिव गुटेरेसले शान्ति तथा सुरक्षा एजेन्डालाई अघि बढाउन तीनवटा मुख्य क्षेत्रमा तत्काल कदम चाल्नुपर्ने आवश्यकता औँल्याएका छन् । उनका अनुसार पछिल्लो समय ५७ वटा शान्ति प्रक्रियामा महिला वार्ताकारको उपस्थिति केवल पाँच प्रतिशत रहनु चिन्ताजनक छ ।

पहिलो प्राथमिकताका रूपमा उनले प्रत्येक शान्ति सम्झौतामा महिलाका आवश्यकता समेट्न र वार्ताको टेबलमा महिलालाई अनिवार्य सहभागी गराउन आग्रह गरेका छन् । उनले ‘कमन प्लेज’ अन्तर्गत बाध्यकारी कोटा र लक्ष्य निर्धारण गरी कार्यान्वयन गर्न सदस्य राष्ट्रहरूलाई आह्वान गरेका छन् ।

दोस्रो प्राथमिकताका रूपमा उनले द्वन्द्वग्रस्त क्षेत्रमा काम गर्ने महिला अधिकारवादी संस्थाका लागि आर्थिक सहयोग बढाउनुपर्नेमा जोड दिएका छन् । बलपूर्वक विस्थापनमा परेका र हिंसाको जोखिममा रहेका महिलालाई सहयोग पुर्‍याउन अन्तर्राष्ट्रिय समुदायले आफ्नो प्रतिबद्धता पूरा गर्नुपर्ने उनको भनाइ छ ।

तेस्रो तथा महत्त्वपूर्ण बुँदाका रूपमा महासचिव गुटेरेसले महिला र बालिकाविरुद्ध हुने हिंसामा ‘शून्य सहनशीलता’ को नीति अपनाउनुपर्ने बताएका छन् । शान्ति निर्माणमा खटिएका महिला तथा मानवीय सहायताकर्मीमाथि हुने आक्रमणका दोषीलाई पूर्ण रूपमा जवाफदेही बनाउनुपर्ने र उनीहरूमाथि लगाइएका सबै प्रकारका प्रतिबन्ध हटाउनुपर्नेमा उनले जोड दिएका छन् ।

गुटेरेसले समानतालाई सपना नभई दृढ निर्णयका रूपमा लिन विश्व समुदायलाई आग्रह गरेका छन् ।

– सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !