१७ बैशाख २०८१, सोमबार

पार्टी भित्रको विवाद नितान्त आन्तरिक र नियमित प्रकृया: प्रधानमन्त्री ओली

प्रकाशित मिति :  10 July, 2020 9:04 pm


काठमाडौं, २६ असार ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रको विवाद नितान्त आन्तरिक र नियमित प्रकृया भएको बताएका छन् । आज बेलुकी देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्ता छलफललाई निष्कर्षमा पुराउने दायित्व पनि सम्बन्धित राजनीतिक दल र नेताहरुकै भएको बताएका छन् ।

सम्बोधनका क्रममा उनले भनेका छन्,‘अहिले कतिपय राजनीतिक विषय र सन्दर्भहरुप्रति जनताको ध्यान अवश्य तानिएको हुनुपर्दछ । त्यस किसिमको चासो र जिज्ञासा हुनु स्वभाविकै हो ।

महामारी र प्राकृतिक विपत्तीको समयमा पनि राजनीतिक बहस किन भन्ने प्रश्नहरु पनि उठ्नु अन्यथा होइन । जुनसुकै राजनीतिक दलभित्र हुने बहस र विवाद आन्तरिक हुन् । त्यसलाई निष्कर्षमा पु¥याउने दायित्व सम्बन्धित राजनीतिक दल र नेताहरुकै हो ।’

अहिले चर्चामा रहेका राजनीतिक परिदृश्यका कारण कतिपयमा राजनीतिक स्थिरता, स्थायित्व र स्थापित प्रणालीप्रति चिन्ता र संवेदनशीलता बढेको पनि हुनसक्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्,‘ म आश्वस्त पार्न चाहन्छु, आम नेपालीहरुका बीच आपसी एकता बढाउन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान उचो बनाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न मेरो तर्फबाट दृढ अडान र हदैसम्मको प्रयास हुनेछ ।’

प्रधानमन्त्री ओलीले यतिबेला आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट विमुख बन्न कसैले नमिल्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा भनेका छन्,‘मैले पहिले पनि भनेको छु, रोग र भोकबाट देशबासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पनि पछि हट्दैन । त्यसैले मेरो र मैले नेतृत्व गरेको सरकारको सारा ध्यान र संम्पूर्ण प्रयाश महामारी र विपत्तिमा परेका नागरिकको जिउधनको रक्षामा केन्द्रित छ ।’



प्रतिक्रिया दिनुहोस !