१३ बैशाख २०८१, बिहिबार

गृहजिल्ला चितवन पुगेर प्रचण्डले भने,‘पार्टी एकता जोगाउन संघर्ष गरिरहेको छु’

प्रकाशित मिति :  11 July, 2020 7:22 pm


चितवन, २७ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई जोगाउन आफूले संघर्ष गरिरहेको बताएका छन् ।

जारी स्थायी कमिटी स्थगित भएका बेला आज गृह जिल्ला चितवन पुगेका प्रचण्डले भने,‘एकतालाई जोगाउन सतर्कतापूर्वक संघर्ष गरिरहेको छु र पार्टी नफुटोस् भन्नेमा हामी सचेत छौँ ।’

अध्यक्ष प्रचण्डले भरतपुर महानगरपालिका र माडी नगरपालिकाभित्र बाढी प्रभावित विभिन्न स्थानहरूको अवलोकन पछि माडीमा आयोजित भेटघाट कार्यक्रममा यस्तो धारणा व्यक्त गरेका हुन् ।

कोरोनाको परिवेश देखाएर केही तत्व पार्टी ध्वस्त बनाउन लागि परेको प्रचण्डको भनाई थियो । उनले भने,‘केही तत्व कहिले मलाई र कहिले प्रधानमन्त्री ओलीलाई उचाल्न सक्रिय छन्, तर हामी सधैं एक छौं ।’ आफैले भनेको तत्वबारे भने प्रचण्डले प्रष्ट पारेनन् ।

अध्यक्ष प्रचण्डले कार्यकर्ताहरुलाई पार्टी फुटिहाले जस्तो गरेर आरोप प्रत्यारोपमा नउत्री एकढिक्का हुन आग्रह समेत गरे । उनले भने, ‘प्रधानमन्त्री ओली र म पार्टी भित्र स्वच्छ प्रतिस्पर्धामा छौं । हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा म छैन ।’

पार्टीभित्र अन्तरसंघर्ष चर्किरहेका बेला प्रचण्डले पहिलो पटक सार्वजनि रुपमा आफ्नो धारणा राखेका हुन् । अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल पक्षले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले दुबै पद छोड्नुपर्ने भनेपछि सत्तारुढ नेकपा विभाजनतर्फ गएको नेताहरुले बताईरहेका छन् ।

ओलीले दुबै पद नछोड्ने प्रष्ट पारिसकेका छन् । संघर्ष चर्किरहेका बेला पछिल्लो पटक स्थायी कमिटी बैठक साउन २ गतेसम्मका लागि स्थगित गरिएको छ । दुई अध्यक्षबीच सहमति गर्नेभनेपनि अहिलेसम्म सकारात्मक संकेतहरु देखिएका छैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउन भारत सकृय रहेको र त्यसमा केही नेता संलग्न रहेको बताएपछि नेकपाभित्र आन्तरिक विवाद चर्किएको थियो । बीचमा प्रधानमन्त्री ओलीले एकाएक संघिय संसदको चालु अधिवेशन स्थगित गरेपछि पार्टी विभाजनको आशंका समेत भएको थियो । अहिले सहमतिको प्रयत्न भन्दै स्थायी कमिटी बैठक स्थगित गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !