७ बैशाख २०८१, शुक्रबार

पार्टी विभाजन हुन दिइने छैन : प्रचण्ड

प्रकाशित मिति :  12 July, 2020 4:12 pm


चितवन, २८ असार ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजन हुन नदिइने बताएका छन् । जिल्ला पार्टी कार्यालय चितवनमा आज कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी एकतालाई अक्षुण्ण राखिने दृढता व्यक्त गरे ।

कार्यकर्तालाई आज सम्बोधन गर्दै उनले भने,’पार्टी विभाजित हुन दिइने छैन, पार्टीको एकतालाई अक्षुण्ण राखिनेछ, यो विश्वास म तपार्इहरुलाई दिलाउन चाहन्छु ।’

पार्टी एकताबद्ध हुने दृढता व्यक्त गर्दै उनले कार्यकर्तालाई भने, ‘अहिले यता र उता दौडिनुभयो भने पछि पछुताउनुहोला ।’ उनले सबैले पार्टी एकताका पक्षमा नारा लगाउनुपर्नेमा पनि जोड दिए।

पार्टीभित्र गम्भीर समस्या सिर्जना भए पनि आफू पार्टीमा देखिएका पछिल्ला सङ्कटबारे गम्भीर छलफलमा रहेको बताउँदै उनले नेता तथा कार्यकर्तालाई हतार नगर्न आग्रह गरे । हतारमा फुट्ने र फुर्सदमा पछुताउने अवस्था आउन नदिन आफू हदैसम्म लचकताका साथ लागिपरेको बताउँदै उनले भने, ‘ठूलो पार्टीमा विवाद आउनु नौलो कुरा होइन, विचार, विधि र जनवादी केन्द्रीयताका आधारमा एकताबद्ध हुने सैद्धान्तिक यथार्थलाई सम्पूर्ण कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले मान्नै पर्छ ।’

चीनमा विशाल कम्युनिष्ट पार्टी नफुटेको बताउँदै उनले चिनियाँ नेताहरुसँगको छलफलमा विचार र विधिबाट चलेमा पार्टी नफुट्ने अनुभवबारे बुझ्न पाइएको जानकारी दिए । उनले पार्टीमा विवाद भएमा विधिबाट समाधान खोजिने बताए।



प्रतिक्रिया दिनुहोस !