२३ बैशाख २०८१, आइतबार

प्रतिरक्षात्मक तथा प्रतिरोधात्मक करबाही सञ्चालन गर्न विप्लवद्धारा पार्टीपङ्क्तिलाई निर्देशन

प्रकाशित मिति :  16 July, 2020 7:48 pm


????????????????????????????????????

काठमाडौं, साउन १ ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टी पङ्क्तिलाई प्रतिरक्षात्मक तथा प्रतिरोधात्मक करबाही सञ्चालन गर्न निर्देशन दिएका छन् ।

पार्टी केन्द्रीय सदस्य तथा सेती–महाकाली ब्यूरो इन्चार्ज ओमप्रकाश पुन, पार्टी सेती-महाकाली ब्यूरो सदस्य तथा महिला केन्द्रीय सदस्य पूर्णिमा धामी र मेची-कोसी ब्यूरो सदस्य जोखिमलाई प्रहरीले पक्राउ गरेपछि महासचिव विप्लवले आज विज्ञप्ति जारी गर्दै प्रतिरक्षात्मक र प्रतिरोधात्मक कारबाही अगाडि बढाउन निर्देशन दिएका हुन् ।

सरकारले विभिन्न सम्पर्क स्रोतमार्फत पटकपटक भेटघाट र छलफल गर्दै फेरि गिरफ्तार गर्ने कार्य जारी राखेको भन्दै महासचिव विप्लवले आपत्ति जनाएका छन् ।

उनले भनेका छन्,‘सरकारले एकातिर विभिन्न माध्यमबाट सम्पर्क गर्ने, वार्ता र भेटघाटका प्रचार गर्ने अर्कोतिर जिम्मेवार कमरेडहरूलाई गिरफ्तार गरिरहेकाले उसका चालबाजीप्रति एकरत्ति भ्रममा नपरेर फासिवादी दमनविरुद्ध सङ्घर्षलाई सशक्त बनाउन, पार्टी र क्रान्तिका कामहरूलाई सञ्चालन गर्न र आवश्यकताअनुसार प्रतिरक्षात्मक एवम् प्रतिरोधात्मक कारबाहीहरू सञ्चालन गर्न सबै पार्टी पङ्क्तिलाई विशेष निर्देशन गर्दछौँ ।’

महासचिव विप्लवले विज्ञप्तिमा पक्राउ परेका नेतृत्वको बिनासर्त रिहाइको माग गर्दै सरकारी चालबाजीको भ्रममा नपर्न पार्टी पङ्क्तिलाई आग्रह गरेका छन् । नेकपाले कोरोना महामारीबाट जनता आक्रान्त भएकाले सङ्क्रमण अन्त्य नभएसम्म भन्दै प्रतिरोधात्मक कारबाही स्थगन गरेको जनाएको थियो ।



प्रतिक्रिया दिनुहोस !