६ बैशाख २०८१, बिहिबार

सत्तारुढ नेकपामा सहमतिमै पार्टी विवाद समाधान गर्ने प्रयास, दुबै अध्यक्षद्धारा संयुक्त रुपमा राष्ट्रपतिसँग भेट

प्रकाशित मिति :  18 July, 2020 9:06 pm


काठमाडौं, साउन ३ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादलाई मिलाउन आज बसेका सचिवालय बैठकबाट ठोस निष्कर्ष नआएपनि नेताहरुले नरम प्रतिकृया दिएका छन् ।

जारी स्थायी कमिटी बैठक जारी रहेका बेला अकस्मात बोलाइएको सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी भित्रको विवादलाई थप छलफल गरेर सहमतिमै टुंग्याउने निर्णय गरेको जानकारी गराएका छन् ।

आज दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म बसेको बैठकले पार्टी विवादबारे अध्यक्षद्वयले सहमतिमा टुंग्याउने निर्णय भएको प्रवक्ता श्रेष्ठको भनाई छ ।

बैठकपछि प्रवक्ता श्रेष्ठले भने,’पार्टीकोआन्तरिक समस्या र संकटलाई सहमतिको आधारमा संबोधन र समाधान गर्ने बारेमा गृहकार्य भइरहेको छ र पार्टी एकताको रक्षा र सुदृढीकरण गर्न नेपाली समाजको आवश्यकता र जनादेश अनुरूप अघि बढ्ने प्रस्ताव तयार गर्ने, छलफल जारी राखेर सहमतिमा निष्कर्षमा पुग्ने छलफल र निर्णय भएको छ ।’

प्रवक्ता श्रेष्ठका अनुसार अब भोली स्थायी कमिटी बैठक तोकिएकै समयमा बस्ने छ ।

पछिल्लोे समय पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुबै पदबाट राजिनामा दिनुपर्ने भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एवं वरिष्ठ नेता माधवकुमार नेपालपक्षले माग राखेपछि पार्टी एकता संकटमा परेका नेताहरुको भनाई थियो । संकट बढ्न थालेपछि जारी स्थायी कमिटी स्थगित गरेर दुबै अध्यक्षबीच पटकपटक छलफल भएका छ भने यै बीचमा स्थायी कमिटी बैठक पनि राखिएको हो ।

आजको बैठक सकिएपछि दुबै अध्यक्ष राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शीतल निवास गएका छन् । यसअघि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले छुट्टै र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको पक्षले छुट्टै राष्ट्रपतिलाई भेट्दै आएका थिए ।



प्रतिक्रिया दिनुहोस !