कोरोना

संसारको एकाएक मुटु हल्लिन थाल्यो !

पृथ्वी नै मुठीमा च्याप्प अँठ्याई घडीको सुइ अल्झिन थाल्यो । चैतको पहिलो साता अज्ञात भय पुसमाघको हुस्सु झैं डम्म भरियो । संचार माध्यममा हरेक समाचारको शब्द शब्दमा चेतावनी र साबधानी ओइरिरहेका थिए ।

हो त्सपछि सहर पातलिन थाल्यो ।गाउँका घरमा विस्तारै गाइँगुइ सुनिन थाल्यो ।तर किन किन यसरी लामो समयपछि गाऊँमा भेटिएका प्रियजनहरू पनि यस पटक कसैलाई त्यति वास्ता लागेनन्।

आशंकाको झ्यांग निकै बाक्लिनाले छरछिमेकी पनि अलि परैबाट हेरेर फर्कन्थे । रित्तो बाटो लमतन्न सुतेको सुत्यै गर्थ्यो! प्राय: विदेशबाट आएकाहरूसँग पहिले भेट्न आउनेहरू अहिले फर्केर पनि हेर्दैनथे। पल्लो गाऊँको रोहनलाई बाबुले अमेरिकाबाट नआउन भनी सम्झाए । कोरियामा रहेको कान्छोले घरबाट फिटिक्कै बाहिर ननिस्कनु भनी बाबु आमालाई सम्झाएको सम्झायै थियो ।

अस्ट्रेलियाबाट छोराबुहारीले नेपालको अपडेट समाचार सुनाउँदै खुरुक्क लकडाउनमा बस्न सम्झाए । लकडाउनको तीन दिनअघि माथिल्लो घरको रिदम कतारबाट काठमाडौँ आइपुग्यो भन्ने सुनेदेखि गाउँका सबैको मुटुले ढ्यांग्रो ठोक्न थाल्यो ।

अटोबाट झरी ढोकाबाट आमा भनी उसले बोलाउँदा आमा बाबुतिर फर्केर ‘के गर्ने ? ‘ को भावले हेरिन् ! भाउजूले नमस्कार फर्काएर धारा र साबुन देखाइन्। लगेज परै निरिह अवस्थामा रोकियो ।

‘पुलिस!’ साइरन बजाउँदै आएको भ्यानतिर औँल्याएर कोही बोल्यो ! छिमेकीहरू खुसी भए ! एकाएक घरका मानिसहरू पनि ढुक्क भए ।

रिदमलाई ढोका बाहिरैबाट भ्यानमा हाली क्वारेनटाइन पुर्याइयो। छोरो भ्यानमा बसेपछि आमा बाबु अन्यमनष्क बने ! बाबु आमाले मनमनै भने ‘अब कोरोना फैलने छैन ! बाबु पनि बाँच्नेछ र हामी पनि ढुक्कले बाँच्ने छौं !’