नेकपा स्थायी कमिटी बैठक अनिर्णयको बन्दी, केन्द्रीय समिति बैठक माग गर्दै १५२ केन्द्रीय सदस्यले हस्ताक्षर बुझाए

काठमाडौं, साउन १४ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र विवादले पार्टी संकटमा परेका बेला १५२ केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठकको माग गर्दै हस्ताक्षर बुझाएका छन् ।

बुधबार पार्टी कार्यालय धुम्बाराहीमा केन्द्रीय सदस्यहरुको हस्ताक्षर बुझाइएको हो । महासचिव विष्णु पौडेललाई हस्ताक्षर बुझाउने भनिए पनि उनी नगएपछि कार्यालयका सचिवलाई हस्ताक्षर बुझाइएको छ ।

पार्टीभित्र विवाद चर्किरहँदा जारी स्थायी कमिटीको बैठक अनिर्णयको बन्दी भएको छ भने अब कहिले बस्ने टुंगो समेत छैन ।
पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुबै पदबाट राजिनामा दिनुपर्ने माग गरेपछि विवाद जारी छ ।

नेकपाको कुनैपनि कमिटीका २५ प्रतिशतले माग गरेमा बैठक राख्नुपर्ने अन्तरिम विधानमा व्यवस्था छ। असार १० गतेदेखि जारी स्थायी कमिटीको बैठक नियमित एजेण्डामा प्रवेश नगरी स्थगित हुँदै आएका बेला केन्द्रीय कमिटी बैठक माग गरिएको छ ।

मंगलबार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक एकपक्षीय रुपमा स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुमत सदस्यको बैठक राखेपछि नेकपाभित्रको विवाद नयाँ स्वरुपमा परिवर्तन भएको छ ।