वार्षिक ८ करोड रुपैयाँ भन्दा बढीको कोदो आयात,साउन १५ लाई ‘कोदो दिवस’ मनाउन बहस

काठमाडौं, १५ साउन।

नेपालमा वार्षिक ८ करोड रुपैयाँभन्दा बढीको कोदो आयात हुने गरेको छ । सरकारी तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७५/०७६ मा ८ करोड ३ लाख रुपियाँ बराबरको कोदो आयात भएको छ ।

२०७४/०७५ आर्थिक वर्षमा ७ करोड १५ लाख २७ हजार रुपैयाँ बराबरको कोदो आयात भएको थियो ।  नेपालमा दुई लाख ६३ हजार हेक्टरमा कोदो खेती गरिने र ३ लाख १४ हजार २ सय २५ मेट्रिकटन कोदो उत्पादन हुने गरेको छ ।

नेपालको चौथो प्रमुख बाली मानिएको कोदोवाली विगतमा विपन्न ग्रामीण समुदायको बाँच्ने आधार भएपनि पछिल्लो समय यो क्रमिकरुपमा विस्थापित हुँदै गएको भन्दै राष्ट्रिय कृषक समूह महासंघले चिन्ता व्यक्त गरेको छ । साउन १५ गते कोदो दिवस मनाउने गरी महासंघले बहस शुरु समेत गरेको छ ।

एसोसिएसन अफ नेपाली एग्रिकल्चर जर्नालिष्ट (अनाज) सँगको सहर्कायमा महासंघले बिहीबार कोदो खेतीको प्रवद्र्धनका लागि कोदो बहस गरेको छ ।

महासंघका अध्यक्ष नवराज वस्नेतले यसपटक बहस चलाइएको र अर्को वर्षदेखि दिवसकै रुपमा बनाउने बताए । ‘यसका लागि सरकारलाई पनि ध्यानाकर्षण गराउने सरकारले नै घोषणा गरेर दिवस मनायो भने झन् राम्रो नभए महासंघले नै नीजि क्षेत्रको सहयोगमा दिवसकै रुपमा मनाउनेछ’ उनले भने । कोदो रैथाने बाली भएपनि यसको संरक्षणमा सरकारले ध्यान नदिएको उनले गुनासो गरे ।

पौष्टिकताले भरिपूर्ण र नेपाल मौलिक बालीका रुपमा रहेको कोदो खेतीको प्रवद्र्धनमा जोड दिनुपर्ने पनि उनले बताए । महासंघका पूर्व अध्यक्ष तथा संरक्षक उद्धव अधिकारीले पनि कोदोको प्रवद्र्धनमा सरकारी उदासिनताका कारण कोदो खेतीमा लाग्ने किसान पनि निरुत्साहित भएको बताए ।

महासंघले कोदोखेतीको पवद्र्धनका लागि विभिन्न ९ बुँदे सुझाव प्रस्तुत गर्दै असार १५ लाई कोदो दिवसका रुपमा मनाउन सरकारसँग माग समेत गरेको छ । कोदो बाली साना, सिमान्त कृषकको जिविकाको आधार भएकाले सरकारी लगानी र प्राथमिकतासहित प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्ने महासंघको सुझाव छ ।

त्यस्तै वातारण सन्तुलन, पोषणयुक्त र आइरनयुक्त खाद्यन्न भएकोले भौगोलिक अवस्थाअनुसार विकास गरिनुपर्ने, जमिनको संरक्षण, उपयोग र युवा रोजगारका हिसावले कोदोवालीलाई हेरिनुपर्ने, खेती प्रक्रियामा सुधार, आधुनिक प्रविधि प्रयोग गरी सहज उत्पादनमा जोड दिनुपर्ने महासंघको जोड छ ।

महासंघले अध्ययन अनुसन्धान गरी सम्मानित वालीका रुपमा प्रचार प्रसार गरिनुपर्ने, कोदोको प्रशोधन र उद्यमशिलतासँग कृषि शिक्षामा जोड दिनुपर्ने, राष्ट्रिय नीति तथा कार्यक्रममार्फत विविधतायुक्त बीउ तथा प्रविधि उपलब्ध गराइनुपर्ने, उत्पादनको मूल्य श्रृङ्खला र बजारीकरणमा जोड दिनुपर्ने र स्थानीय, प्रदेश र संघीय सरकारको नीति तथा कार्यक्रममार्फत सम्वोधन गरी कोदो दिवस र कोदोखेती प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिनुपर्ने सुझाव राखेको छ ।

कोदोमा प्रचुरमात्रामा ‘आईरन’ पाइने हुनाले महिलाहरुमा देखिने रक्त अल्पताको समस्यालाई न्युनीकरण गर्नुका साथै क्याल्सियम हाड तथा दाँतको विकास र तन्दुरुस्तीमा महत्वपूर्ण मानिन्छ । यसमा पाइने रेशाजन्य पदार्थले पेट सफा गर्ने भएकोले आन्द्राको क्यान्सरबाट बचाउँछ । कोदोमा प्रसस्त मात्रामा म्यागानिक, जिंक पोटासियम पाइने विभिन्न अध्ययनले देखाएको छ ।