मुक्ति सेनाको स्कूलले जुराएका कम्युनिष्ट

लामो समयदेखि विभिन्न रोगले पीडित ९० वर्षीय श्री बरमन बुढा मगरको देहान्तको खबरले सबै रोल्पाली सचेत नागरिकलाई स्तब्ध पारेकै छ । साथै सिंगो बामपन्थी सेरोफेरोलाई पनि दुःखद तरंगले छोएकै छ । यस दुःखद घडीमा जीवित रहँदा तत्कालीन प्यूठान जिल्ला र हाल रोल्पा जिल्लामा कम्युनिष्ट आन्दोलनका प्रतिमुर्ति रहेका बुढाप्रति चीर शान्तिको कामना गर्नु र उनको इतिहासलाई यथास्थानमा सजीव राख्नुनै एउटा कर्तब्य हो भन्ने मलाई लाग्दछ ।

बरमन बुढाका जीवन र कार्यक्षेत्र जिम्मेवारी धेरै नियाल्न न त मलाई भौगोलिक निकटताले साथ दियो न त लामो सामिप्यताले । उहाँ हाम्रो पिताजी स्व. श्री खडानन्द सुवेदी भन्दा झण्डै १६/१७ वर्ष कान्छा हुनुहुँदोरहेछ । उनीसँग मेरो चिनजान खडानन्दको छोराको नाताले बढी तथा २०४७ को बहुदल प्राप्तिपछि थोरै समय म संयुक्त जनमोर्चामा संलग्न भई बहुदलीय चुनावमा सो पार्टीका उमेदवार बनेका बुढामगरको चुनावी अभियानमा मुख्य रुपमै सकृय भई निकटम रुपमा काम गरेको नाताले राजनैतिक सम्बन्ध जोडिन पुग्यो । तर, उक्त मोर्चा मात्र नभई सम्पूर्ण कम्यूनिष्ट सिद्धान्तनिर्मित ढोङबाटै मोह भंग भई म अलग्गिएपछि हाम्रो त्यो राजनैतिक सम्बन्ध रहेन ।

पिताजीदेखि निरन्तर रुपमा रहदै आएको हाम्रो पारिवारिक सामाजिक सम्बन्ध भने निकै पछिसम्म कायम रहयो । १० वर्षे सशस्त्र द्वन्द्वले सबैलाई टाढाटाढा, शत्रुवत र बिरानु पारेपछि भने ति श्रद्धेय राजनीतिकर्मीसँग मेरो पुनः भेट भेट हुन सकेन । तर पनि बाईसखुवा गजुल राज्यको सामग्रीहरु खोज र अनुसन्धान गर्ने क्रममा २०७५ साल चैत्र महिनामा म साथीहरुसहित उहाँको जन्म र कर्मस्थल थवाङ पुगेको थिएँ, उहाँको स्मरणमा रहेका तथ्य–तथ्याङ्कहरु प्राप्त गर्ने उद्देश्यका साथ । दुर्भाग्य नै भनौं त्यो समयमा उहाँ दाङ हुँदै उपचारका लागि काठमाडौंं जानु भएकाले भेट भएन । फेरि आएर इतिहासका धरोहरहरु प्राप्त गर्ने इच्छा हुँदाहुँदै पनि भेट्न सकिएन । अब त पुनः पछुताउनुबाहेक के बाँकी रहयो र ?

थाहा पाए अनुसार मध्यकालमा रुकुमे राजाले समेत तह लाउन नसकेको थवाङ, पछि गजुलका राजालाई दाइजोमा आएपछि गजुल राज्यले समेत तह लगाउन नसकेको र राज्यलाई तिरो– भरो नतिर्ने थवाङ सधैँ आफुखुशी नै रहेको थियो । पछि प्यूठान जिल्ला अन्तर्गत बाइसखुवा थुम अन्तर्गत रहेको यो गाँउ आफैँपनि प्यूठान ठाना र बडाहाकिम समेतको पहुँच हुन नसकेको अभेद्य किल्ला रहेको थियो ।

वार्षिक जग्गा रकम तिरो बुझाउन समेत रुकुम जानुपर्ने थिति रहेकाले प्रशासनिक रुपले प्यूठान अन्तर्गत रहेपनि यो गाँउ प्यूठान जिल्लाका गाम,उवा, जस्तै अनजान नै रहयो ।

२००७ सालको क्रान्तिपछि यस गाँउका मुखिया किसन बुढा(कृष्ण बुढामगर) श्री खडानन्द सुवेदीको प्रभावमा परि नेपाली कांग्रेसको सदस्य  बने । त्यो समयसम्म थवाङमा कम्युनिष्ट पार्टीको जानकारी नै थिएन । यस्तैमा २०१० सालतिर प्यूठान जिल्लाको बडाहाकिम भई मनमोहन मिश्र आए । नेपाली कांग्रेस विरोधी यि बडाहाकिमले प्यूठानको अड्डा रातामाटामा सार्नपर्छ भनि गरेको आन्दोलनले गरेको माग अनुसार उनका पूर्ववर्ती बडाहाकिम प्रतिमन बोहराले पुरा गरिदिएको निर्णयलाई खारेज गरि खलंगामा नै कायम गरिदिए ।

घुस्याहा बडाहाकिमको कुनामले प्रचारित यी मिश्रले खलंगाका व्यापारीसँग घुस खाई अड्डा सार्ने निर्णय बदर गराएको हुन भन्ने चर्चासँगै “खलंगाको बजारमा, मिश्र बिक्यो १५ हजारमा ” भन्ने गीत खुब चलेको थियो ।

थवाङका मुखिया,जिम्वालबाट जग्गाको तिरो रकमबाहेक कुनैपनि मुद्दा मामिला प्यूठान गौँडा–अड्डा अदालतमा नआउने हुँदा छानविन र दौडाहाको नाममा निज बडाहाकिम मिश्र थवाङ पुगि ७ दिनसम्म बसी पुराना पुराना मुद्दा मामिला खोजी उठाई दण्ड सजाय गरेका थिए । निज मनमोहन मिश्रले थवाङ लगायतका गाँउहरुबाट साठी हजार रुपैयाँ उठाई खाएको कुरा हामी बाला हुँदा समेत सुन्थ्यौँ ।

यो घटनाले गरिब थवाङी जनतामा सरकारप्रति निराशा र आक्रोशको जन्म दिएको हो भनि स्व. श्री खडानन्द सुवेदी तथा स्वयं बरमन बुढाले बताउनुहुन्थ्यो । मिश्र बडाहाकिमले घर–घरबाट रकम उठाउन बाध्य पार्दा गाँउलेहरु लुक्नका लागि जंगलसमेत पसेका थिए । यो अन्यायले बिद्रोह तथा राज्यप्रति बितृष्णाको भावना जन्मियो ।

०७ सालको क्रान्तिमा प्यूठान मुक्त गर्न गएका मुक्ति सेनाका सैनिकहरु लगायतले आफ्नो बेतनबाट एक एकमोहर कट्टा गरि रकम जम्मा गरी ‘मुक्ति मिडिल स्कूल स्थापना’ गरेका थिए । सोही स्कूल २०१० सालपछि कांग्रेस नेता अनिरुद्र शर्मा र खडानन्द सुवेदीको प्रयासले हाईस्कूल भयो ।

यसै स्कूलमा पढ्नका लागि थवाङबाट मुखिया किसन बुढाका छोरा बरमन बुढा,अर्का दिलकुमार र तेस्रो एक जना समेत तीन जना प्यूठान   गए । त्यस समयमा मोहन विक्रम सिंह कम्युनिष्ट नेता बनी प्यूठान भरमा निकै कृयाशील थिए । उनी विद्यार्थीहरु जम्मा गरि क्रान्तिकारी भाषण गर्दथे, आफ्नो पार्टी संगठित गर्दथे र युवा तथा विद्यार्थीहरुका लागि लडाकू तालिम शिविर पनि सञ्चालन गर्दथे ।

बडाहाकिम मिश्रको अत्याचारले जनतामाथि परेको दमनको पीडा यि युवाहरुमा ताजा थियो । स्वाभाविकै रुपले बदलाको भावना हुने नै भयो । मोहनविक्रम सिंहको क्रान्तिकारी र शोषणरहित समाजको नाराले युक्त पार्टीको आकर्षणमा यिनीहरु स्वभाविक रुपमाले गाँसिए । यसरी २०१३ सालमा यि तीनजना थवाङी किशोरहरु पहिला कम्युनिष्ट बनेर आए । यसरी थवाङमा र २०१८ सालमा निर्मित रोल्पा जिल्लाकै पहिलो कम्युनिष्ट नेता यिनै बरमन बुढा हुन पुगे ।

२०१५ सालको पहिलो प्रजातान्त्रिक आम निर्वाचनमा बरमन लगायत उनका साथीहरु थवाङ समेत समेटिएको निर्वाचन क्षेत्र नं ८४ को चुनावी क्षेत्रमा प्रचार प्रसारमा खटिए । उनीहरु नेपाल कम्युनिष्ट पार्टीको त्यै क्षेत्रका उमेदवार खगुलाल गुरुङको प्रचारप्रसारमा लागे । तर सो क्षेत्रमा विजयी नेपाली कांग्रेस पार्टी समेत ५ पार्टीले प्राप्त गरेको कुल मतसंख्या १२४८१ मध्य नेपाल कम्युनिष्ट पार्टीले जम्मा १६७३ मात्र प्राप्त गरेको देखिएकाले थवाङमा समेत उनीहरुको प्रभाव र प्रचारप्रसार राम्रोसँग नभएको देखिन्छ ।

यि युवाहरु त्यसपछि पनि निरन्तर पार्टी विस्तारको कार्यमा लागिरहे । जसको नेतृत्व यिनै बरमन बुढाले गरेका थिए । अशिक्षा, पछौटेपनले ग्रसित यो जिल्लाको सिमान्त क्षेत्र कम्युनिष्ट प्रभावका लागि उर्वर मात्रै भएन,प्यूठानका कम्युनिष्ट नेताहरुका लागि पनि प्रयोगशाला  र आश्रयस्थल बन्यो ।

थवाङमा बरमन बुढाको नेतृत्वमा कम्युनिष्ट प्रभाव भएपनि पञ्चायती शासनकालमा यो गाँउले पञ्चायत शैली अपनाएकै थियो । सुझबुझका साथ २०२१ सालमा थवाङले जिल्ला सभामा धर्मबहादुर रोका नामका युवालाई प्रतिनिधि बनाई पठाएको थियो । रोल्पा गजुलका (२०१५ सालका नेपाली कांग्रेसका संसद) खडानन्द सुवेदी जिल्ला सभापति हुँदा यिनै धर्मबहादुर रोका उपसभापति भएर काम गरेका थिए । यसबाट बहुदलीय चिन्तन भएकासँग सहकार्य गर्न उचित हुने निर्णय यिनीहरुले गरेको प्रष्ट देखिन्छ । नभन्दै दुबै जनप्रतिनिधिहरुको जोडीले आफ्नो कार्यकालमा निकै बिकास कार्य त सम्पन्न गरेका मात्र नभई बिकासको आधार समेत तयार पनि गरे र पछिसम्म कार्य एकता चल्दै रहयो ।

वि.सं. २०३३ सालमा जिल्ला पञ्चायत सभापतिका उम्मेदवार श्री खडानन्द सुवेदीले श्री अमृत घर्तीलाई निर्विरोध सभापति पद छोडिदिने परिस्थिति बन्यो । खडानन्दजीको उपसभापति बन्नका लागि १२ बर्षपछि फेरि चुनाव लड्न आएका उम्मेदवार बनेका श्री धर्म बहादुर रोकाले पनि उम्मेदवारी फिर्ता लिए । उनलाई उपसभापति बनाउन अन्यले र अमृतजीलेसमेत प्रयास गर्दा ‘खडानन्द जस्तो नेताको पो उप (सभापति) हुने हो, जो गयो त्यसैको उप हुने धर्म बहादुर रोका होइन’ भन्दै स्वतः छोडिदिएकाले पनि बरमन बुढाबाट निर्देशित यि थवाङी प्रतिनिधि कति खारिएका रहेछन् भन्ने प्रष्ट हुन्छ । तर फेरि पनि थवाङलाई जिल्लाको मूल प्रवाहमा समाहित गराउने अवसर चुक्यो ।

पिताजी खडानन्द सुवेदीसँग पारिवारिक मित्रता भएका र दुबै जना खारिएका नेता भएकाले दुबैको बीचमा अति राम्रो सम्बन्ध थियो । समयक्रममा थवाङ गाउँ पञ्चायतका प्रधानपञ्च समेत भएका बरमन बुढासँग उहाँहरुको जिल्लामा योजना कार्यस्थलमा मात्र हैन, थवाङ जाँदा आउँदा समेत उहाँकै घरमा बसाइ र भेटघाट भइरहन्थ्यो । राजनैतिक प्राणी भएकाले दुबैको बीचमा राजनैतिक छलफल र विचार विमर्श नहुने त कुरै भएन । दुबैको बीचमा गहिरो सम्मान पनि थियो । आमाको माइत रुकुमकोट भएकाले माइत घर गर्दा र हामीहरु मावल जाँदा पनि थवाङ बास बस्नु पर्दा बरमन बुढाकै घरमा बस्थ्यौं ।

बुढाको राजनैतिक प्रभावको स्पष्ट स्वरुप २०३७ साल वैशाख १० गतेको जनमन संग्रहको नतिजाले देखायो । जनमतमा थवाङ केन्द्रबाट सम्पूर्ण भोट निलोमा अर्थात् बहुदलको समर्थनमा आयो । यसले राष्ट्रिय परीदृश्यमा थवाङको बेग्लै पहिचान बनायो । त्यसपछि २०३८ साल राष्ट्रिय पञ्चायत सदस्यको पहिलो बालिग मताधिकार निर्वाचनमा सोही थवाङ केन्द्रबाट चुनाव बहिस्कारको भित्री सन्देश दिंदै मतदान बाकस रित्तै फर्केर आयो । लगत्तै भएको ‘प्रहरी कावाही’ को दमनपूर्ण प्रशासकीय आक्रमणले थवाङीमा बिद्रोहको भावना मुखर भयो । मरीचमान प्रधान मन्त्री भएका बखत थबाङलाई पञ्चायतको प्रवाहमा ल्याउने प्रयत्न अन्तरर्गत पटक पटक त्यहाँ पुग्नुभयो ।

२०४६ सालको जनआन्दोलनको सफलतापश्चात यो रोल्पा जिल्लामा नेकपा मशाल सर्थित संयुक्त जनमोर्चा नेपालको प्रभाव विस्तारित हुँदै गयो । २०४८ सालको बहुदलीय संसदीय निर्वाचनका लागि उम्मेदवारमा जिल्ला कमिटीमा छलफल हुँदा सर्वसम्मत रुपले बरमन बुढा र कृष्ण बहादुर महराको नाम पारित भयो । पूर्वी–उत्तर रोल्पा एक क्षेत्र र पश्चिम दक्षिणी रोल्पा दुई नम्बर क्षेत्र तोकिएको यो जिल्लामा बरमन बुढाको गाउँ थवाङ दुई नम्बर क्षेत्र र कृष्ण बहादुर महाको लिवाङ एक नम्बर क्षेत्रमा पर्ने भएकाले सोही अनुसार उम्मेदवारी सिफारिस थियो ।

संयुक्त जनमोर्चाको स्थापनासँगै रोल्पा जिल्लामा अलिक शालीन कार्यकर्ताहरुमध्ये झक्कु प्रसाद सुवेदी र मँ (नारायण प्रसाद सुवेदी) लाई यो निर्वाचनमा उम्मेदवारहरुको चुनावी प्रतिनिधिको रुपमा काम गर्ने जिम्मेवारी आयो । कार्यकर्ता सञ्चालन, प्रचारप्रसार संयोजन र विस्तारदेखि लिएर निर्वाचन कार्यालयमा रही उम्मेदवारहरुको तर्फबाट पु¥याउनु पर्ने कानुनी, कागजी प्रक्रियाहरुसमेत सुचारु ढंगले हामी दुई जनाले सम्पन्न गर्दै गयौं । यस बाहेक आ–आफ्नो क्षेत्रमा निरिक्षण, भ्रमण, अनुगमन, सम्पर्क आदिसमेत हामीले जिम्मा लिएर यी दुई उम्मेदवारहरुलाई सकेसम्म जनताको घरघरमा पुग्ने सक्ने वातावरण मिलाइदिने काम पनि हामीे गर्यौं ।

तर पार्टीको केन्द्रीय कमिटीले बरमन बुढालाई दुई नम्बर क्षेत्रबाट एक नम्बर क्षेत्रमा र कृष्ण बहादुर महरालाई एक नम्बर क्षेत्रबाट दुई नम्बर क्षेत्रमा उम्मेदवार बनाएर पठायो । यसको कारण के थियो भने, एक नम्बर क्षेत्रको अत्यधिक जनसंख्या , मतदाता र बसोबास मगर जातिको थियो । यी मगरहरु नै पूर्वपञ्च बालाराम घर्तीमगरका भोट बैंक थिए ।

‘गामको मगर रोयो भन्या, दिल्लीको मगर रोन्च,’ ‘बालाराम भन्याको मगरको मुटु हो, राजाले पत्याएको मगर त्यही हो,’ भन्ने जस्ता भनाइहरु त्यो बेला प्रचलित थिए । यो निर्वाचनमा राष्ट्रिय पञ्चायत पार्टीबाट तिनै बालाराम घर्तिमगर उम्मेदवार उठेका थिए, सो क्षेत्रबाट । त्यसैले बालारामलाई हराउन बरमनलाई एक नम्बर क्षेत्रमा सारियो होला ।

यस्तै दुई नम्बर क्षेत्रमा खस–क्षेत्रीहरुको बाहुल्यता रहेको छ । यो अवस्थामा मगर उम्मेदवारको तुलनामा क्षत्री उम्मेदवारको अर्थ फरक    हुन्थ्यो । साथै दुई नम्बर क्षेत्रमा नेपाली कांग्रेसले सुरेन्द्र हमाललाई उम्मेदवार बनाएको थियो । यस प्रकार उम्मेदरवार तोकिएपछि हामीले अब नाम समेत किटानी गरेर प्रचार तिब्र पारेका थियौं ।

यो निर्वाचनको प्रचार प्रसारमा लाग्दा प्रतिद्वन्दी पार्टी कार्यकर्ताबाट भौतिक–शारीरिक आक्रमण पनि भए । घर्तिगाउँमा कुलानन्द गिरीमाथि आक्रमण भयो भने म माथि बडाचौरमा शारीरिक आक्रमण भयो । यस्तै गुम्चालमा राजेश सुवेदी आक्रमणमा परे । तर पनि दृढताकासाथ सक्रिय रही सो निर्वाचनमा हाम्रो प्रयासले सफलता पायो ।

एक नम्बर क्षेत्रबाट बरमन बुढा मगर र दुई नम्बर क्षेत्रबाट कृष्ण बहादुर महरा विजय भए । यस प्रकार २०१३ सालदेखि नेपाल कम्युनिष्ट पार्टीमा सलग्न भएका बरमन बुढा २०४८ सालमा केन्द्रीय पदमा पुगे । दुबै संसद बामपन्थिलाई विजय गराएकोमा भने पहिल्यैदेखि चर्चित थवाङी बरमन बुढा राजनीतिको चर्चाको शिखरमा देखिए ।

बुढासँग त्यस निर्वाचनपछि मेरो त्यति सम्पर्क रहेन । तर जति समय मैले उहाँसँग काम गरे, त्यसले मलाई उहाँप्रति सम्मान रह्यो । निकै ढिलो बोल्ने तर विचार पुयाएर बोल्ने उहाँको अभिव्यक्तिले जहिले पनि जो विषयमा पनि गहिरो अर्थ राख्दथ्यो । सधै हँसिलो अनुहारमा यो बामपन्थी नेताले कहिल्यै पनि विपक्षी नेतालाई अनावश्यक, अवान्छित आरोप लगाएको मैले सुनिन ।

आफ्नो सिद्धान्तप्रति अटुट विश्वास मात्र हैन आफ्नो भेषभुषाको मौलिकताप्रति पनि उहाँ इमान्दार हुनुहुन्थ्यो । यस कुराको प्रमाण संसद पदमा विजयी भएर सिंहदरबार ग्यालेरी बैठकमा पस्दा आफै थवाङी पोसाक भोटो, कछाड लगाएर गएको बाटै देखिन्छ । उहाँले प्रतिनिधित्व गर्ने पार्टीले २०५२ सालदेखि ‘जनयुद्ध’ को नीति अवलम्बन गरेपछि उहाँ सक्रिय भएको पाइएन । यो उहाँको आफ्नै निर्णयको विषय होला । साथै उमेरगत कारणले पनि भूमिका खेल्यो होला । तर पनि उहाँले बामपन्थी राजनैतिक क्षेत्रमा दिएको योगदान र इतिहासको निर्माण भविष्यमा पनि जीवित रहनेछ । स्व. बरमनजी प्रति सम्मानपूर्वक हार्दिक श्रद्धान्जली !

२०४८ सालको चुनावमा बरमन बुढाको चुनावी प्रतिनिधि भएर काम गरेका सुवेदीः ‘सय दिन माओबादीको कब्जामा’ पुस्तकका लेखक हुन् ।