२४ घण्टामा थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि,लकडाउनको अन्त्य भएको घोषणापछि सङ्क्रमितको सङ्ख्या बढ्दो

काठमाडौं, साउन १७ ।

पछिल्लो २४ घण्टामा थप ३ सय १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय १५ जनामा कोरोना संक्रमण पृष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी गराएका छन् ।

सरकारले लकडाउनको अन्त्य भएको घोषणा गरेपछि कोरोना सङ्क्रमितको सङ्ख्या बढेको देखिएको छ ।  लकडाउन खोल्नुअघिका ११ दिनमा ४७ हजार ८७७ नमूना परीक्षण गर्दा  १ हजार ३४५ जनामा सङ्क्रमण देखिएको थियो ।

त्यस्तै लकडाउन खुलेपछिको ११ दिनमा ५८ हजार १७४ नमूना परीक्षण गर्दा २ हजार ९२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता  डा जागेश्वर गौतमले जानकारी दिए । सरकारले यही साउन ६ गते मध्यरातदेखि बन्दाबन्दीको अन्त्य भएको घोषणा गरेको थियो ।

मन्त्रालयका अनुसार आज सबैभन्दा बढी कैलालीमा ८९ जनामा सङ्क्रमण देखिएको छ । यस्तै बझाङमा ६८, पर्सामा ६६, अछाममा २८, इलाममा २२, कञ्चनपुरमा नौ, सप्तरीमा सात, सिरहा र काठमाडौँमा पाँच/पाँच, मोरङ, झापा, रामेछाप र रुपन्देहीमा दुई÷दुई, सुनसरी, उदयपुर, बारा, रौतहट, काभ्रेपलाञ्चोक, भक्तपुर, कास्की र सल्यानमा एक/एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या २० हजार ८६ पुगेको छ । सङ्क्रमितमध्ये हालसम्म ७२.१ अर्थात् १४ हजार ४९२ जना कोरोना निको भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ९३ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । प्रदेश नं १ को भोजपुर र सङ्खुवासभा तथा गण्डकी प्रदेशको मनाङ र मुस्ताङमा कोरोनाका सक्रिय सङ्क्रमित छैनन् ।