प्रमुख प्रशासकीय अधिकृत पक्राउ परेपछि तुलसीपुर उपमहानगरपालिकाद्धारा धारणा सार्वजनिक

 दाङ, १७ साउन। 

प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय घुस लिएको आरोपमा पक्राउ परेपछि दाङको तुलसीपुर उपमहानगरपालिकाले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौं जाँदै गर्दा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिृकत उपाध्याय नागढुंगाबाट पक्राउ परेपछि मेयर घनश्याम पाण्डेले विज्ञप्ति जारी गर्दैै आफूहरु निर्वाचित भएर आएदेखि नै भ्रष्टाचारमा शून्य सहनशिलताको नीति अनुसार काम गरिरहेको स्पष्ट पारेका छन् ।

विज्ञप्तिमा प्रमुख पाण्डेले भनेका छन्,”राज्य या सर्वसाधारण जनताबाट कसैले पनि कुनै बहानामा अनियमितता गरेर रकम लिनुहुँदैन भन्ने हाम्रो दृष्टिकोण र प्रतिवद्धता हो । उपमहानगरपालिमा हामी आएको यो ३ वर्षका विचमा हामीले कुुनै पनि भ्रष्टाचारजन्य घटनाको सामना गर्नुपरेको थिएन । हाम्रो सजगता, संयमता र सतर्कताका विचमा पनि भएको यो घटनाले हामीलाई निकै दुखी र आश्चर्यचकित तुल्याएको छ ।”

नगरबासी सबैलाई दुखी बनाउने यसखालको घटनाका बारेमा कुनै पनि आग्रह र पूर्वाग्रह विना नै सत्य तथ्य छानविन भएर दोषिलाई आवश्यक कारबाहीका पूर्ण सहयोग गर्ने मेयर पाण्डेले प्रतिबद्धता जनाएका छन् ।

उनले भनेका छन्,”यो र यसप्रकारका अन्य घटनामा कोही कर्मचारी, सेवाग्राही,व्यवसायी या जनप्रतिनिधि जो कोहीको पनि संलग्नता देखिए आवश्यक छानविन र कारबाहीका लागि नगरप्रमुखका हिसाबले मैले कुनै पनि कन्ज्युस्याइ नगरेर सघाउँने कुरा यस प्रेस विज्ञप्ती मार्फत आमसर्वसाधारणमा जानकारी गराउँदछु ।”

मेयर पाण्डेले उपमहानगरपालिकामा हुने कुनैपनि अनियमितताका घटनाका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यसैगरी जानकारी दिएर उपमहानगरपालिकालाई सुशासनयुक्त स्थानीय तहका रुपमा विकास गर्न आमसर्वसाधारणले यसैगरी सहयोग गर्नुहुन अनुरोध समेत गरेका छन् ।