अरनिको राजमार्गमा यातायात सञ्चालन

चाैतारा, साउन १८ ।

अविरल वर्षाले गत असार २४ गते राति आएको बाढीपहिराले क्षतिग्रस्त अरनिको राजमार्गको बाह्रबीसे–तातोपानी सडकखण्डमा यातायात सञ्चालन भएको छ । छब्बीस दिनदेखि अवरुद्ध सडक व्यवसायी, स्थानीय निकाय, विद्युत् आयोजना तथा सडक डिभिजन कार्यालयको संयुक्त पहलमा मर्मत भएपछि यातायात सञ्चालन भएको डिभिजन सडक कार्यालय दोलखाका प्रमुख डिई विजयकुमार महतोले जानकारी दिए

क्षतिग्रस्त सडक खुलाउन सडक विभागले खासै तदारुकता नदेखाएपछि मितेरी पुलदेखि भोटेकोशी गाउँपालिका बुलकोटेसम्म व्यावसायीको पहलमा सडक मर्मत गरिएको नेपाल ट्रक कन्टेनर व्यवसायी सङ्घका अध्यक्ष अर्जुन सापकोटाले बताए।

खासाबाट सामान राखेका २०० मालवाहक कन्टेनर चार सातादेखि तातोपानी भन्सार यार्डमा थन्किएको थियो । त्यस्तै राजधानी छुटेका मालवाहक कन्टेनर एक सातादेखि जम्बुमा अलपत्र परेको अध्यक्ष सापकोटाले बताएका छन् । दर्जनांै कन्टेनरमा राखिएका स्याउ बाटामै कुहिन थालेको छ भने कपडालगायत सामान समयमै गन्तव्यमा पु¥याउन नसकेपछि करोडांैको नोक्सानी व्यहोर्नुपरेको व्यवसायीले गुनासो गरेका छन् ।रासस ।